बरु मर्छु देशप्रति गद्दारी गर्दिन : जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भेलोडिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षाका लागि अमेरिकी प्रस्तावलाई सिधैं अस्वीकार गरिरहेका छन् । अमेरिका उनलाई देश छोडेर भाग्न भनिरहेको छ तर उनी मानिरहेका छैनन् । अमेरिकाले रुसी आक्रमणका बीच युक्रेनी राष्ट्रपति भेलोडिमिर जेलेन्स्कीलाई देशबाट भगाउने प्रस्ताव गरेको थियो । यद्यपि, जेलेन्स्कीले त्यसलाई अस्वीकार गर्दिए । उनले लड्नका लागि सवारी होइन, हतियार चाहिन्छ भन्ने बयान दिएका छन् । अमेरिकाले यसअघि नै प्रस्ताव दिएको खबर बाहिर आएको थियो । अमेरिकी गुप्तचर एजेन्सी सीआईएका निर्देशक विलियम जे बर्न्सले जेलेन्स्कीलाई जनवरीमा भेटेका थिए । यस क्रममा उनले राष्ट्रपतिलाई सुरक्षाका विषयमा गम्भीर चेतावनी पनि दिएका थिए । त्यसपछि, रूसी पक्षबाट घटनाक्रम द्रुत गतिमा बढ्यो र अब कीभ कब्जाको लागि लडाई अन्तिम चरणमा पुगेको छ । यो लडाइँको बीचमा अमेरिकी सरकारबाट जेलेन्स्कीलाई जुनसुकै बेला युक्रेनबाट निष्कासन गर्न अमेरिका तयार रहेको आश्वासन मिलेको छ । उनलाई रूसी सैनिकहरूद्वारा कब्जा हुन नदिन वा मारिनबाट बचाउन अमेरिका भगाउन खोज्दैछ । तर अमेरिकाको यो प्रस्तावको बीचमा जेलेन्स्कीको भिडियो सार्वजनिक भएको छ ।
जेलेन्स्कीले एउटा भिडियो सार्वजनिक गरेका छन् । त्यसमा उनले युक्रेनको स्वतन्त्रताका लागि अन्तिम समयसम्म लड्ने स्पष्ट सन्देश दिएका छन् । भिडियोमा उनले भनेका छन्, ‘हामी सबै यहाँ छौं । हाम्रो सेना यहाँ छ। यहाँ सबै नागरिक छन्। हामी सबै यहाँ हाम्रो स्वतन्त्रता, हाम्रो देशको रक्षा गर्दैछौं, र त्यसो गरिरहनेछौं।’ यो भिडियो अघि नै जेलेन्स्कीले एक भिडियो जारी गर्दै आफू रुसी सैनिकको पहिलो निशाना र परिवार दोश्रो भएको बताएका थिए । जानकारी अनुसार, अमेरिकी गुप्तचरले पहिले नै जेलेन्स्कीलाई चेतावनी दिएको थियो, उनी रुसको निशानामा छन् । रूसी गुप्त टोलीहरू जनवरीदेखि युक्रेनमा भएको पनि खुलेको छ ।