पेट्रोल पम्पमा सेना परिचालन

काठमाडौ । फसेको श्रीलंकाका पेट्रोल पम्पमा सेना खटाइएको छ । विश्व राजनीतिमा देखिएको युद्ध र कोभिडको असरका कारण पछिल्लो समय गम्भीर आर्थिक संकटमा फसेको श्रीलंकाका पेट्रोल पम्पमा हिंसात्मक गतिविधि हुन थालेपछि सेना खटाइएको हो । लाइनमा उभिँदाउभिँदै तीनजना वृद्धको मृत्यु तथा लाइनमा उभिने मानिसबीच कुटाकुट हुन थालेपछि पेट्रोल पम्प र मट्टितेल स्टेशेनमा सेना खटाउने निर्णय भएको श्रीलंकाका अधिकारीले जनाएका छन् । ‘हरेक इन्धन पम्पमा कम्तिमा २ जना सैनिक खटाइने छ’, सैनिक प्रवक्ता निलन्था प्रेमारत्नेले रोइटर्स समाचार माध्यमसँग भने । पम्पमा खटिने सैनिकले इन्धन वितरणमा सघाउने भए पनि भीड नियन्त्रण नगर्ने पनि प्रेमारत्नेको भनाइ थियो ।
सैनिक अधिकारीका अनुसार सरकारी स्वामित्वमा रहेको एवं इन्धनको दुई तिहाई बजार ओगट्ने सिलोन पेट्रोलियम कर्पोरेशनका पम्पमा सैनिक खटाउन लागिएको हो । मानिसहरूले पेट्रोल र मट्टितेलको संचय अत्यधिक गर्न थालेको, राम्रोसँग वितरण हुन नसकेको र पम्पमै कुटाकुट एवं हिंसात्मक झडप हुन थालेको गुनासो आएपछि पम्पमा सेना खटाउने निर्णय गरेको सरकारका प्रवक्ता रमेश पथिरानाले बताए । उनले भने, ‘सर्वसाधारणलाई सघाउन सैनिक परिचालन गरिएको हो, उनीहरूको मानव अधिकार कुण्ठित गर्न परिचालन गरिएको होइन् ।’