हङ्गेरीमा सङ्कटकाल !

२०७९ जेष्ठ १२ गते, बिहीबार


काठमाडौं । रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गरेका हुन् । उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ ।
सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए । रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले सङ्कटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाइ छ । दुई देशको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएकाले आर्थिक सङ्कट न्यूनीकरणका लागि सङ्कटकालले सहयोग गर्ने हङ्गेरीको सरकारले आशा गरेको छ । ती देशको द्वन्द्वका कारण विश्वका अरू पनि धेरै देशमा आर्थिक सङ्कट उत्पन्न हुनुका साथै अभाव र महङ्गी सृजना भएको छ ।-सिन्ह्वा

प्रतिक्रियाहरु

[anycomment]