रुसद्वारा परमाणु क्षेप्यास्त्र चलाउने अभ्यास !

२०७९ जेष्ठ १९ गते, बिहीबार


काठमाडौं । रुसले परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास थालेको छ । योसंगै उसले अब विश्वभरी नै युद्ध फैलाउने त हैन ? भन्ने आशंका बढेको छ । यहीबीच अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जनाएका छन् । रकेट प्रणालीका अत्याधुनिक हतियारहरु युक्रेनलाई दिने निर्णय गरेर अमेरिकाले आगोमा घ्यु थपेको टिप्पणी रुसले गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई दिने निर्णयको पुष्टि गरेलगत्तै रुसले परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास थालेको घोषणा गरेको छ । युक्रेनले रुसी आक्रमणको प्रतिरक्षा अत्याधुनिक हतियारको माग गर्दै आएको थियो । सोही माग अनुसार अमेरिकाले युक्रेनलाई एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम दिने निर्णय गरेको छ ।
रुससँग भएका भन्दा अत्याधुनिक मानिएका यी हतियारले लामो दुरीसम्म प्रहार गर्न सक्छ । यद्यपि यस्ता हतियार कतिवटा अमेरिकाले दिनेछ भन्ने स्पष्ट भइसकेको छैन । यसैबीच जर्मन सरकारले पनि युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली पठाउने जनाएको छ ।
चान्सलर ओलाफ सोल्जले युक्रेनको एउटा पूरै शहरलाई रूसी आक्रमणबाट जोगाउन सक्षम बनाउने गरी ‘आईआरआईएस–टी’ नामका हतियार उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]