राष्ट्रसंघद्धारा प्यालेस्टिनी बालबालिकाको हत्याप्रति चिन्ता व्यक्त

२०७९ श्रावण २८ गते, शनिबार


काठमाडौं । इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनामा यस वर्षको सुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमा बताएका छन् । “द्वन्द्वको क्रममा कुनै पनि बालबालिकालाई चोट पु¥याउनु गहिरो चिन्ताजनक कुरा हो र यस वर्ष धेरै बालबालिकाको हत्या र अपाङ्गसमेत पारिएको अव्यावहारिक हो”, अल जजीराले ब्याचेलेटलाई उद्धृत गर्दै जनाएको छ ।
गत हप्ता मात्रै कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा १९ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको थियो, यस वर्षको सुरुदेखि हालसम्म बालबालिकाको मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । गत साताको अन्त्यमा इजरायली सेनाले गाजामा गरेको आक्रमणमा १७ जना बालबालिकाको मृत्यु भएको थियो । मङ्गलबार कब्जा गरिएको वेस्ट बैंकमा इजरायली कारबाहीमा थप दुई बालबालिका मारिएका अल जजीराले जानकारी दिएको छ । गाजामा इजरायली आक्रमणमा भारी सङ्ख्या सर्वसाधारण माएिका संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले बताएका छन् ।
नागरिकहरुलाई मार्ने, घाइते पार्ने वा नागरिकका वस्तुहरुलाई क्षति पु¥याउने अन्तर्राष्ट्रिय मानवीय कानूनमा निषेध गरिएको छ । शुक्रबारदेखि आइतबारसम्मको तीन दिनको आक्रमणमा मारिएका ४८ प्यालेस्टाइनीहरूमध्ये कम्तीमा २२ जना सर्वसाधारण रहेका र ती मध्ये १७ बालबालिका र चार महिला भएका संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले पुष्टि गरेको छ ।
इजरायली आक्रमणमा एक सय ५१ बालबालिका, ५८ महिला र १९ वृद्धवृद्धासहित सर्वसाधारण नागरिक घाइते भएका छन् । (रासस/एएनआई)

प्रतिक्रियाहरु

[anycomment]