एकै दिन अढाई लाखभन्दा बढी कोरोना सङ्क्रमित !

काठमाडौं । जापानको टोकियोमा एकै दिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड १९ को सङ्क्रमण भएको छ । यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो । कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको छ । टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् ।
जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड १९ को यो सातौँ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शय्या पाउन कठिन भएको बताएका छन् ।
यसैबीच, बिहीबार सिङ्गापुरमा तीन हजार पाँच सय ५३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै सिङ्गापुरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १८ लाख नौ हजार दुई सय २१ पुगेको छ ।
त्यसैगरी बिहीबार उक्त सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार कोभिड १९ बाट सिङ्गापुरमा हालसम्म एक हजार पाँच सय ७२ जनाको मृत्यु भएको छ । (रासस/सिन्ह्वा)