बाइडेनद्वारा गाँजासम्बन्धि अपराधमा माफी दिने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन् । बाइडेनले एक भिडियो सन्देशमा देशको संघीय कारागारमा गाँजा सेवन र राख्ने आरोपमा थुनिएका सबै मानिसलाई रिहा गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रपति चुनावको प्रचारप्रसारका क्रममा उनले उक्त निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको यो कदमले गाँजासम्बन्धि संघीय अपराधमा सजाय भोगिरहेका हजारौं अमेरिकीहरू लाभान्वित हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै कसैलाई जेल हाल्नु उचित नहुने बताएका छन् । बाइडेनले आफ्नो नयाँ निर्णयले गाँजाको अवैध खरिदबिक्री, व्यापार र कम उमेरमा बिक्रीमा आवश्यक प्रतिबन्ध कायमै रहने बताएका छन् । उनले गाँजाप्रतिको गलत दृष्टिकोणका कारण धेरै जीवन बर्बाद भएकोले यो गल्ती सच्याउने समय आएको तर्क गरेका छन् । गोरा र काला मानिसहरूले समान मात्रामा गाँजा प्रयोग गरे पनि काला मानिसलाई गोराहरू भन्दा बढी पक्राउ गरिने र सजायँ दिइने अभ्यासको उनले विरोध गरेका छन् ।
अमेरिकामा गाँजासम्बन्धि मुद्दा मतदाताको प्राथमिकतामा पर्दै गएको छ । अहिले अमेरिकामा गाँजालाई लागू औषध हेरोइनकै श्रेणीमा वर्गीकरण गरिएको छ । -एजेन्सी