बेलायती प्रधानमन्त्री ट्रसद्वारा पदभार ग्रहण गरेको ६ सातामै राजीनामा !

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको छ हप्तापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेकी छन् । कर कटौतीको उहाँको दक्षिणपन्थी प्लेटफर्म विघटित भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूमध्ये धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजीनामा घोषणा गर्नुपरेको हो । डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको तर टोरी नेताको रूपमा काम गर्न उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्रीको रूपमा रहने बताइन् । प्रभावशाली सांसद ग्राहम ब्राडीले खेल समाप्त भएको बताएपछि उनले भनिन्, “हामी सहमत भएका छौँ कि अर्को हप्ताभित्र नेतृत्वको चुनाव सम्पन्न हुनेछ । यसले हामी हाम्रो वित्तीय योजना पूरा गर्ने बाटोमा रहन र हाम्रो देशको आर्थिक स्थिरता र राष्ट्रिय सुरक्षा कायम राख्न सुनिश्चित गर्दछ ।” उनले थपिन्, “उत्तराधिकारी नछानिएसम्म म प्रधानमन्त्रीकै रुपमा रहनेछु ।”
लेबर पार्टीका नेता केइर स्टार्मरले विपक्षी दलले ट्रसको छोटो, सङ्कटग्रस्त कार्यकालपछि ‘अब’ आम निर्वाचनको माग गरेका छन् । हाउस अफ कमन्समा बुधबार अबेर राति भएको एक महत्वपूर्ण मतदानमा एक प्रमुख मन्त्रीले राजीनामा दिएको र टोरीका धेरै सांसदले विद्रोह गरेपछि ट्रस प्रधानमन्त्रीका रूपमा राजीनामा घोषणा गर्न बाध्य भएकी हुन् । बिहीबार बिहानसम्म, एक दर्जनभन्दा बढी कन्जरभेटिभ सांसदहरूले सार्वजनिक रूपमा ट्रसलाई राजीनामा दिन आग्रह गरेका थिए । उनको कर कटौतीको योजनाले पहिले नै गम्भीर लागत र जीवनयापन सङ्कटको समयमा बजारमा मन्दी निम्त्याएको छ । धेरैले ब्राडीलाई हटाउनलाई माग गर्दै पत्रहरू बुझाएको रिपोर्ट गरिएको थियो । यद्यपि पार्टी नियमहरूले १२ महिनाका लागि अर्को नेतृत्व अभियानलाई निषेध गरेको थियो ।
“प्रधानमन्त्रीले हिजोको दिन निकै कठिन रहेको स्वीकार्नुभएको छ र उहाँले जनताले सरकारलाई राजनीतिमा कम र आफ्ना प्राथमिकता पूरा गर्न बढी ध्यान केन्द्रित गरेको हेर्न चाहेको महसुस गर्नुभएको छ,” उनका सरकारी प्रवक्ताले पत्रकारहरूसँग भने । प्रवक्ताको यो भनाइ आएको दुई घण्टा नबित्दै प्रधानमन्त्री ट्रसले राजीनामाको घोषणा गरेकी हुन् । -रासस/एएफपी