पोल्याण्डमा रुसी मिसाइल खस्दा २ जनाको मृत्यु !

काठमाडौं । गए राति युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँमा रुसद्धारा प्रहार गरिएको मिसाइल खस्दा दुईजनाको मृत्यु भएको छ । नेटोको सदस्य रहेको पोल्याण्डमा मिसाइल खसेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो र जी ७ का नेताहरु समक्ष आकस्मीक बैठक बोलाइएको बताइएको छ ।
उता रुसी सेनाले एक बिज्ञप्ति जारी गर्दै भनेको छ ‘यु क्रेनी–पोलिश सीमा नजिकका लक्ष्यहरूमा कुनै पनि रुसी विनाशकारी माध्यमद्वारा हमला गरिएको छैन ।’ दुईजनाको मृत्यु हुनेगरी मिसाइल खसेपछि पोल्याण्डका प्रधानमन्त्री माटुस्ज मेराविकीले आपतकालिन बैठक बोलाएका छन् । उक्त बैठकमा राष्ट्रिय सुरक्षा र रक्षा मामिलाका विषयमा छलफल हुने सरकारका प्रवक्ता पिटर मुलरले जानकारी दिएका छन् । इण्डोनेशियाको बालीमा भइरहेको जी २० शिखर सम्मेलनमा रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि छलफल भइरहेका बेला मिसाइल आक्रमण भएपछि यसलाई अर्थपूर्णरुपमा हेरिएको छ । उक्त बैठकमा चीन तथा अमेरिकाका राष्ट्रपति, भारतीय प्रधानमन्त्री लगायतको सहभागीता भइरहँदा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन भने सहभागी भएनन् । उक्त सम्मेलनमा रुसका विदेशमन्त्री सहभागी रहेका थिए भने युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेनेस्कीले बैठकलाई भिडियो सम्बोधन गर्दै १० बुँदे शान्ति प्रस्ताव अघि सारेका छन् ।