तालिवानको अत्याचारविरुद्ध एक्लै लड्ने युवती

२०७९ पुष १३ गते, बुधबार

काठमाडौं । अफगानिस्तानमा तालिबानले महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध लगाएको छ । तालिबानी अत्याचारको डरले यस निर्णयको छिटफुट मात्रै विरोध भइरहेको छ। यी सबैको बीचमा अफगानिस्तानकी एक १८ वर्षीया युवती चर्चामा छिन्, जसले बिना डर ​​तालिवानको यो निर्णयको विरोध गरिरहेकी छिन् । यति मात्र होइन, अफगानिस्तानकी यी विद्यार्थी एक्लै हातमा पोस्टर लिएर तालिबानविरुद्ध विरोध गर्न निस्किएकी छिन् । समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै मारवाले भनिन्, ‘जीवनमा पहिलो पटक म गर्व, बलियो र शक्तिशाली भएको महसुस गरिरहेको छु । किनभने म तिनीहरूको विरुद्धमा खडा छु र अल्लाहले मलाई दिएको अधिकारको माग गर्दैछु।’
मारवाले केही महिनामै विश्वविद्यालयमा भर्ना हुनुपर्ने थियो । युनिभर्सिटीमा भर्ना भएको भए उनी परिवारमा यस्तो गर्ने पहिलो महिला हुनेथिइन् ।
अफगानिस्तानमा तालिबान सत्तामा आएपछि अधिकांश कार्यकर्ता पक्राउ परेका छन् । त्यसबेलादेखि, महिलाहरूको विरोध एकदम दुर्लभ भएको छ। अफगानिस्तानमा प्रदर्शनले गिरफ्तारी वा उत्पीडन निम्त्याउँछ। यसका बावजुद मारवा यी सबै कुराबाट नडराएर तालिबानको विरुद्धमा उभिइन्। मारवाले काबुल विश्वविद्यालय क्याम्पस नजिकै हातमा पोस्टर लिएर शान्तिपूर्ण ढंगले तालिवानको यस निर्णयको विरोध गरेकी थिइन् । यसै क्रममा उनकी बहिनीले उनको भिडियो पनि बनाएकी थिइन् । महिला अधिकारमाथि आक्रमण गर्दै तालिबानले गत हप्ता मात्रै विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाएको छ । यसबारे विश्वभरबाट प्रतिक्रिया पनि आएका छन् । अफगानिस्तानमा पनि केही महिलाहरूले विरोध गर्ने प्रयास गरे तर तालिबानले उनीहरूलाई विरोध गर्न दिएनन्।
आइतबार काबुल विश्वविद्यालय बाहिर ठूलो संख्यामा तालिबान गार्ड तैनाथ गरिएको थियो। मारवाले हातमा बोकेको पोस्टरमा इकरा लेखिएको थियो । यसको अर्थ अध्ययन वा पढाइ हो। मारवाले भनिन्, ‘हामीलाई निकै नराम्रो भयो । तर हामी शान्त रह्यौं। तर म एउटी अफगान केटीको शक्ति देखाउन चाहन्थें, कि उनी पनि उत्पीडन विरुद्ध उभिन सक्छिन्।’
मारवा भन्छिन् कि जब मेरा अन्य दिदीबहिनीहरू (केटीहरू) ले एउटी एकल केटी तालिबान विरुद्ध खडा हुन सक्छिन् भन्ने देख्छन् तब उनीहरूलाई आवाज उठाउन र तालिबानलाई परास्त गर्न बल मिल्छ।
गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबान सत्तामा आएको थियो । तालिबानले नरम शासनको प्रतिज्ञा गरेको थियो। तर सत्तामा आएपछि उसले महिलामाथि कडा प्रतिबन्ध लगाएको छ । यसअघि शनिबार नै तालिबान प्रशासनले सबै सहयोगी संगठनहरूलाई महिलाहरूलाई काममा आउनबाट रोक्न भनेको छ। यति मात्र होइन, अफगानिस्तानमा केटीहरूको लागि माध्यमिक विद्यालयहरू एक वर्षदेखि बन्द छन्। यसैबीच सरकारी जागिर गुमाएका धेरै महिलालाई तलबको एक हिस्सा घरमै बस्नका लागि दिइने गरेको छ । यति मात्र होइन, महिलालाई पार्क, जिम र स्विमिङ पुलमा जान प्रतिबन्ध लगाइएको छ । तालिबानका अनुसार महिलाहरूले हिजाब लगाउने लगायतका कडा इस्लामिक ड्रेस कोडको पालना नगरेको कारणले यी प्रतिबन्धहरू लगाइएको हो।

प्रतिक्रियाहरु

[anycomment]