अष्ट्रेलियाको जंगलमा पुन: आगलागी !

काठमाडौं । अष्ट्रेलियाको दमकल विभागले गर्मीको लहरका कारण पूर्वी तट नजिकै जंगलमा एक दर्जन स्थानमा लागेको आगोले गम्भीर रुप लिन सक्ने चेतावनी दिएको छ । सिड्नीबाट २५० किलोमिटर टाढा रहेको उत्तरपश्चिममा लागेको आगलागीका कारण पछिल्लो दुई वर्षमा पहिलो पटक आपतकालीन आगोको चेतावनी जारी गरिएको हो । अष्ट्रेलियामा दुई वर्षको बाढी र वर्षाको सिजनपछि सन् २०१९ र २०२० अवस्था फिर्ता आउने देखिन्छ । त्यसबेला अष्ट्रेलियाले धेरै ठाउँमा भीषण आगलागीको सामना गर्नुपरेको थियो । ४९ फिट अग्लो आगोसँग दमकलले संघर्ष गर्नुपरेको जानकारी प्राप्त भएको छ ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स प्रान्त गर्मीको लहर र आगलागीबाट सबैभन्दा बढी प्रभावित भएको छ । अष्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको त्यस क्षेत्रका मानिसहरूलाई आफ्नो घरहरू खाली गर्न भनिएको छ, केही सम्पत्तिमा पनि क्षति पुगेको पाइएको छ । सोमबार, राज्यका केही क्षेत्रहरूमा तापमान ४० डिग्री सेल्सियस पुगेको थियो, जुन जनवरी २०२१ पछि सबैभन्दा धेरै हो । मंगलबार राज्यका ३३ स्थानमा आगलागी भएको खबर आएको छ, जसमध्ये १० स्थानमा आगो नियन्त्रण गर्न गाह्रो हुँदैछ । अधिकारीहरुले तीव्र हावाका कारण आगो छिटो फैलिएको बताए ।
अष्ट्रेलियाको मौसम विभागले न्यू साउथ वेल्समा अझै धेरै ठाउँमा आगलागी हुन सक्ने चेतावनी पनि दिएको छ । सन् २०१९ अष्ट्रेलियाका लागि सबैभन्दा खराब मौसम वर्ष रह्यो । त्यसबेला जंगलमा लागेको डढेलोका कारण करिब ३ अर्ब पशुपक्षी मरेका थिए ।