दुई भारतीयद्वारा अमेरिकामा खर्बौं घोटाला !

२०८० बैशाख ३ गते, आईतवार

काठमाडौं । अमेरिकामा भारतीय मूलका ऋषि शाह र श्रद्धा अग्रवालमाथि खर्बौं घोटाला गरेको आरोपमा दोषी ठहर गरिएको छ । ऋषि र श्रद्धा हेल्थ टेक्नोलोजी स्टार्टअप कम्पनी ‘आउटकम हेल्थ’ का सह–संस्थापक हुन् । ऋषि शाह कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । श्रद्धा अग्रवाल पनि कम्पनीको पूर्व अध्यक्ष थिइन् । उक्त मुद्दामा कम्पनीका पूर्व प्रमुख अपरेटिङ अफिसर र प्रमुख वित्तीय अधिकृत ब्राड पर्डीलाई पनि दोषी ठहर गरिएको छ । अमेरिकी न्याय विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ऋषि, श्रद्धा र ब्राडलाई करिब १ अर्ब डलर (करिब एक खर्ब ३१ अर्ब रुपैयाँ) हिनामिना गरेको मुद्दामा दोषी ठहर गरिएको हो ।
आउटकम हेल्थले अमेरिकामा डाक्टरहरूको कार्यालयमा टेलिभिजन स्क्रिन र ट्याब्लेटहरू राख्थ्यो । जानकारी अनुसार ती टेलिभिजन स्क्रिन र ट्याब्लेटमा ग्राहकलाई विज्ञापन देखाउँथे । अधिकांश फार्मा (औषधि) कम्पनीहरूका विज्ञापन चलाउने गरिन्थ्यो । ती स्क्रिनहरूमा प्रतिष्ठित औषधि कम्पनीका विज्ञापनहरू चलाउने गरेको पाइएको छ । ‘आउटकम हेल्थ’ ले यी औषधि कम्पनीहरूलाई विज्ञापन चलाएको भनेर बिल पठाउँथ्यो । यो कम्पनीले आफ्ना क्लाइन्ट (औषधि कम्पनी) लाई ठेक्का बमोजिम विज्ञापन देखाएर गडबड गरिरहेको पाइएको छ । बिलिङमा पनि हेरफेर गर्थे । ऋषि शाहलाई ५ वटा पत्र ठगी, १० वटा तार ठगी (दूरसञ्चार वा सूचना प्रविधिको प्रयोग गरी गरेको आर्थिक ठगी), २ वटा बैंक ठगी र सम्पत्ति शुद्धीकरणको २ वटा मुद्दामा दोषी ठहर गरियो । त्यसैगरी श्रद्धा अग्रवाल मेल ठगीका ५, तार ठगीका ८ र बैंक ठगीका २ मुद्दामा दोषी ठहर गरिएको छ । दुवैलाई हालै सजाय सुनाइएको हो । उनीहरूको सजाय सुनुवाइ भने भएको छैन् ।
ऋषि शाह र श्रद्धा अग्रवालले सन् २००६ मा ‘आउटकम हेल्थ’ स्टार्टअप कम्पनी खोलेका थिए । सन् २०१७ सम्म ‘आउटकम हेल्थ’ लाई कन्टेक्स्ट मिडिया भनिन्थ्यो । अमेरिकामा आउटकम हेल्थका सीईओ ऋषि शाहलाई त्यतिबेला सफल मिडिया र प्रविधि उद्यमी मानिएको थियो । ऋषि धेरै नागरिक संगठनहरूमा पनि संलग्न छन् । उनी शिकागोल्याण्ड चेम्बर अफ कमर्स र नर्थवेस्टर्न युनिभर्सिटीको विद्यार्थी व्यवसाय शिक्षा संस्थानको निर्देशक बोर्डमा पनि थिए । आउटकम हेल्थका सह–संस्थापक श्रद्धा अग्रवाल, सम्मेलन वक्ता र स्टार्ट–अप सल्लाहकार हुन् । ऋषि शाह र श्रद्धा अग्रवाललाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उत्कृष्ट १०० युवा उद्यमीको सूचीमा राखेर सम्मान पनि गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]