राष्ट्रपति पुटिनको निवासमा ड्रोन आक्रमण !

काठमाडौँ । युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा रातभर ‘ड्रोन आक्रमण’ गरेको रुसले आरोप लगाएको छ । मंगलबार राति युक्रेनी मानवरहित ‘वायु यान’ले आक्रमण गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दाबी गरेका छन् । रुसी समाचार एजेन्सी एवं सञ्चारमाध्यमले क्रेमलिनको भनाइ उदृत गर्दै ड्रोन आक्रमण भएका बेला पुटिन त्यस भवनमा नभएको र भौतिक क्षतिबाट पनि जोगिएको उल्लेख गरेका छन् ।
राष्ट्रपति पुटिनले अहिले मस्को नजिकैको आफ्नो निवासबाटै काम गरिरहेको प्रवक्ता पेस्कोभले जनाएका छन् । राष्ट्रपति पुटिनका कर्मचारीका अनुसार युक्रेनले उनको हत्या गर्ने उद्देश्यले मंगलबार राति क्रेमलिनस्थित अपार्टमेन्टमा दुईवटा ड्रोन आक्रमण गरेको थियो । ड्रोनहरू विद्युतीय युद्धका उपायहरू प्रयोग गरेर नष्ट गरिएको र कुनै क्षति नभएको पेस्कोभले जनाएका छन् ।
रूसी राष्ट्रपति पुटिनलाई कुनै चोट पटक नलागेको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको रुसले यसलाई ‘आतङ्कवादी हमला’ भएको छ । रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ । उचित समयमा उचित प्रतिरोधात्मक कदम चल्ने रुसले चेतावनी दिएको छ ।-एजेन्सी