अमेरिकी विदेशमन्त्री ब्लिङ्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

२०८० असार ५ गते, मंगलवार

काठमाडौँ । चीनको दुई दिने भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् ।
अमेरिका–चीनको यो भेटलाई संसारभरबाट महत्त्वका साथ हेरिएको छ । ‘ग्रेट हल अफ द पिपुल’ मा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले चीन–अमेरिकामात्र नभई विश्वभरकै अवस्थालाई सामान्य बनाउन दुई देशबीचको सम्बन्ध सुधार हुनुपर्ने बताएका छन् । राष्ट्रपति सीले अमेरिकीहरू जस्तै चिनियाँहरू पनि सम्मानित, आत्मविश्वासी र आत्मनिर्भर रहेकाले दुवै देशका नागरिकलाई सम्मानित जीवन जिउने अधिकार रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले चिनियाँ राष्ट्रपति सीको कुरामा समर्थन जनाउँदै दुई देशको सम्बन्ध सुधारमा जोड दिएका थिए ।
ब्लिङकनको चीन भ्रमणको मुख्य उद्देश्य पनि दुई देशबीच चिस्सिएको सम्बन्ध सुधार गर्नु रहेको थियो । सी र ब्लिङ्कनबीचको भेटवार्ताले अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सीबीच वार्ता हुने सम्भावनालाई सहज गरिदिएको अपेक्षा गरिएको छ । यसअघि ब्लिङकनले चिनियाँ वरिष्ठ कुटनीतीज्ञ तथा पूर्व विदेशमन्त्री वाङ यी र आफ्ना समकक्षी छिन् काङसँग भेटवार्ता गरेका थिए ।
ब्लिङकनले गत फेब्रुअरीमै चीनको भ्रमण गर्ने योजना रहेता पनि अमेरिकी आकाशमा शंकास्पद चिनियाँ जासुसी बलुन देखिएपछि उनले आफ्नो भ्रमण स्थगित गरेका थिए । बलुन प्रकरणपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो । चीन र अमेरिकाबीच ताइवान मामिला, पारस्परिक व्यापार, युक्रेनमा जारी युद्ध लगायतका विषयलाई लिएर मतभेद रहदै आएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]