रुसद्वारा युक्रेनमा मिसाइल प्रहार
काठमाडौं । पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमा पर्ने क्रामाटोस्र्क सहरमा रुसी क्षेप्यास्त्र हमलामा बालबालिकासहित कम्तिमा ११ जनाको मृत्यु भएको छ । दोनेत्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार रुसले स्थानीय समयअनुसार मंगलबार साँझ साढे ७ बजे मिसाइल आक्रमण गरेको हो ।
उक्त आक्रमणमा ६० जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । युक्रेनी सहर ‘क्रामाटोर्स्क’ रुसले कब्जा गरेको भू–भागनजिकै पर्छ । दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको थियो । युक्रेनका आन्तरिक मामिलामन्त्री इहोर क्लाइमेन्कोले रुसले जानाजानी भिड भएका क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरेको बताएका छन् ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाप्रति कडा टिप्पणी गर्दै रुसले पराजय भोग्नु पर्ने र उसलाई न्यायको कठघरामा ल्याउनुपर्ने बताएका छन् ।
रुसले भने आमनागरिकलाई निशाना नबनाएको प्रतिक्रिया दिएको छ । सन् २०२२ फेब्रुअरी, २४ मा सुरु भएको रुस–युक्रेन युद्ध अझै जारी छ ।
यसैबीच उत्तर एट्लान्टिक सन्धि संगठन नेटोका प्रमुख जेन्स स्टोल्टेनवर्गले बाग्नर समूहको विद्रोहले रुसको नेतृत्वमा विभाजन ल्याएको दाबी गरेका छन् । हेगमा भएको नेटो सदस्य राष्ट्रहरुको शीर्ष बैठकमा नेटो प्रमुख स्टोल्टेनवर्गले गत साता भएको रुसको बाग्नर समूहको विद्रोहले रुसी नेतृत्वमा विभाजन ल्याएको जनाएका हुन् । उनले यो घटनालाई युक्रेन र पश्चिमा गठबन्धनले गलत आकलन गर्न नहुने भन्दै युक्रेनलाई थप सहयोग गर्नुपर्ने बताए ।
बैठकमा लिथुएनियाका राष्ट्रपति गिटाना नौसेडाले वाग्नर समूहको बेलारुस पलायनले छिमेकी देशहरुमा अस्थिरताको ठूलो खतरा भएको जिकिर गरेका थिए ।