गाबोनमा सैन्य ‘कु’
काठमाडौँ । अफ्रिकी मुलुक गाबोनमा सैनिक ‘कु’ भएको छ ।त्यहाँको सेनाले शक्ति हातमा लिएको र राष्ट्रपति अली बोङ्गोलाई घरमै नजरबन्दमा राखेको जनाइएको छ । राष्ट्रपतिका छोरालाई भने राष्ट्रद्रोहको अभियोगमा पक्राउ गरिएको छ । गाबोनमा चार दिनअघि यही अगस्ट २६ मा भएको निर्वाचनमा बोङ्गो तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । निर्वाचनमा उनले ६४ प्रतिशत मत प्राप्त गरेको घोषणा गरिएको थियो । सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरुलाई विघटन गरेको घोषणा गरेको छ । अली सन् २००९ मा पहिलो पटक राष्ट्रपति भएका थिए । उनले सन् १९६७ देखि राष्ट्रपति रहेका ओमारबाट सत्ता प्राप्त गरेका थिए ।
गाबोन सन् २०२० यता सैनिक विद्रोह भएको अफ्रिकी महादेशको आठौं देश हो । गत जुलाईमा मात्रै अर्को अफ्रिकी मुलुक निजरमा सैनिक विद्रोह भएको थियो । -एजेन्सी