मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प : ८०० व्यक्तिको मृत्यु
काठमाडौँ । मोरक्कोमा शुक्रबार राति सवा ११ बजे गएको भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुरुमा ३१.११ डिग्रि उत्तर अक्षांश र ८.४४ डिग्रि पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको बताइएको छ ।
भूकम्पपछि उत्तरी मोरक्कोको फेस शहरका बासिन्दाहरु सम्भावित पराकम्पहरुको चिन्तामा छन् । कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन् । रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै शहरहरुमा भुक्म्पको धक्का महशुस गरिएको थियो । तरौडान्ट र माराकेस शहरहरुमा भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।
प्रारम्भिक रिपोर्टका अनुसार भूकम्पका कारण राजधानी माराकेश र दक्षिणका धेरै क्षेत्रमा ज्यान गएको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक रिपोर्टहरू अनुसार अल-हौज, माराकेश, ओआरजाजते, अजिलाल, चिचौवा र तारौदान प्रान्तमा २९६ जनाको ज्यान गएको छ।”
विज्ञप्ति अनुसार १५३ जना घाइते भएको पनि जानकारी प्राप्त भएको छ । यस्ता धेरै भिडियोहरु सामाजिक सञ्जालमा शेयर भएका छन् जसमा ढलेका भवनहरु र घाइतेहरु देखिएका छन् ।
धेरै भिडियोहरूमा भवनहरू हल्लिरहेका छन् र मानिसहरू सडकतिर दौडिरहेका छन्। सामाजिक सञ्जालमा शेयर भइरहेका भिडियोमा धुलोको बादलमा हिँडिरहेका मानिसहरु पनि देखिन्छन् ।
सरकारी टिभीमा प्रसारण भएको भिडियोमा सवारीसाधनमा खसेको भवनको भग्नावशेष देखिन्छ । भूकम्पपछि अधिकांश मानिसले घरबाहिर सडक र पार्कमा रात बिताएका छन् ।
माराकेशको पुरातन क्षेत्रहरूमा धेरै भवनहरू ध्वस्त भएका छन्। एक स्थानीय बासिन्दाले रोयटर्सलाई भने कि पुरातन शहरका धेरै भवनहरू भत्किएका थिए। ऐतिहासिक सहर माराकेशका अर्का बासिन्दाले भने कि उनले “कम्पन र भवनहरू हल्लिरहेको महसुस गरे।”
“मानिसहरू डर र आतंकमा थिए, त्यहाँ अराजकताको वातावरण थियो,” अब्दुलहक अल-इमरानीले एएफपीलाई भने।
अब्दुलहकका अनुसार करिब १० मिनेटसम्म बिजुली नआएको र फोन पनि चलिरहेको थिएन । एएफपी रिपोर्टहरूका अनुसार एक परिवार भग्नावशेषमुनि फसेको थियो र धेरै मानिसहरूलाई अस्पताल लगिएको थियो। भूकम्पको केन्द्रविन्दु पहाडी क्षेत्रमा भएपनि राजधानीबाट करिब ३५० किलोमिटर टाढा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । कासाब्लान्का र इजोरिया जस्ता शहरहरू पनि हल्लिए। भूकम्पको केन्द्रविन्दु नजिकै रहेका सामान्य घरहरु भत्किएका हुनसक्छन् र त्यहाँबाट जानकारी लिन समय लाग्न सक्छ ।
मोरक्कोको माराकेशजस्ता सहरमा ठूलो संख्यामा पर्यटक आउने र पर्यटक प्रभावित हुने सम्भावना छ । मोरक्कोको जेमा अल फना स्क्वायरमा रहेको ऐतिहासिक मस्जिदको मीनार भत्किएको छ । बीबीसीले यससँग सम्बन्धित भिडियोहरू हेरेको छ। यद्यपि, यी भिडियोहरू स्वतन्त्र रूपमा प्रमाणित गरिएको छैन। एएफपीले आफ्नो रिपोर्टमा यहाँ दुई जना घाइते भएको जनाएको छ। जेमा-अल-फना माराकेशको मुख्य चौराहा हो र विश्व सम्पदाको रूपमा मान्यता प्राप्त छ।
संसारभरका पर्यटकहरू यहाँ आउँछन् र मानिसहरूलाई भेट्छन्। भूकम्पपछिको अवस्थाको पूर्ण तस्वीर अझै स्पष्ट हुन सकेको छैन । तर अहिलेसम्म प्राप्त विवरण अनुसार माराकेश भूकम्पबाट नराम्ररी प्रभावित भएको छ ।