इजरायलमा ५ हजार रकेट प्रहार !
काठमाडौं । इजरायलमा ५ हजार रकेट प्रहार भएको छ ! गाजाबाट इजरायलमा भएको अचानक आक्रमणमा दर्जनौं चरमपन्थी गाजा पट्टीबाट इजरायलमा प्रवेश गरेका छन् । यसपछि इजरायलभरि चेतावनी जारी गरिएको छ र सीमा क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ। प्यालेस्टिनी लडाकुहरूले पनि गाजा पट्टीबाट इजरायलतर्फ रकेट प्रहार गरेका छन्। यी रकेट हमलाहरू पछि इजरायलको ठूलो क्षेत्रहरूमा चेतावनी साइरन सुनिएको छ। तेल अवीव र दक्षिणी गाजा वरपरका क्षेत्रमा विष्फोट भएको खबर छ । प्राप्त जानकारी अनुसार एक जनाको मृत्यु भएको छ ।
यसैबीच, इजरायली सेनाले गाजाबाट धेरै प्यालेस्टिनी लडाकुहरू दक्षिणी इजरायल प्रवेश गरेको बताएको छ। इजरायली सेनाले सीमा नजिक बसोबास गर्ने मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ। प्यालेस्टिनी चरमपन्थी समूह हमासले यी आक्रमणको जिम्मेवारी लिएको छ। हमासले गाजामा शासन गर्छ। हमासले बीस मिनेटभित्र पाँच हजार रकेट प्रहार गरेको दाबी गरेको छ ।
हमासका कमाण्डरले लेबनानी लडाकुहरूलाई इजरायलविरुद्धको लडाइमा सामेल हुन आग्रह गरेका छन्। समाचार एजेन्सी रोयटर्सले इजरायली सहर अस्केलोनमा लागेको आगो निभाउने अग्निनियन्त्रकहरूको तस्बिर जारी गरेको छ।
यसैबीच, इजरायलको प्रधानमन्त्री कार्यालयले रकेट आक्रमणपछि सुरक्षा प्रमुखहरूको बैठक बोलाइएको जनाएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इजरायलको उद्धार एजेन्सीका अनुसार एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।