इजरायलद्वारा गाजामा तीव्र हमला , इन्टरनेट र फोन सेवा बन्द

काठमाडौँ । इजरायलले गाजामा आफ्नो हमलालाई तीव्र बनाएको छ । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ। शुक्रवार रातभरि बमबारी गरेको इजरायलले अहिले जमिनमा पनि हमला सुरु गरेको र आफ्ना सेना तथा ट्याक्कहरू गाजाको भूमिमा रहेको बताएको छ। गाजास्थित बीबीसीका एकजना संवाददाताले राति भएको बमबारी आफूले “हालसम्म कहिल्यै पनि नदेखेको र नभोगेको खालको व्यापक भएको” बताएका छन्। त्यसले गर्दा त्यहाँ अहिले अत्यन्त अस्तव्यस्त अवस्था उत्पन्न भएको छ। मानवीय सहायतासम्बन्धी निकायहरूले त्यहाँको अवस्था भयावह रहेको चेतावनी दिएका छन्।
राष्ट्रसङ्घको प्यालेस्टाइनका लागि मानवीय सहायता संयोजक ल्यान हस्टिङ्सले ‘गाजामा कुनै पनि ठाउँ सुरक्षित नरहेको’ बताएकी छन्। सञ्चार सम्पर्क हुन नसकेका कारण गाजाको यथार्थ अवस्थाबारे जानकारी आउन सकेको छैन तर उत्तरी भागमा लगातार आक्रमण भइरहेका भिडिओहरू सार्वजनिक भएका छन्।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ताले आइतवार बिहान आफ्ना सैनिकहरू स्थल कारबाहीमा खटिएको बताएका थिए। उनले दक्षिणी क्षेत्रका मानिसका निम्ति खाद्यान्नसहितका मानवीय सहायताका ट्रकहरू पठाइने बताए। इजरायलले अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि गाजामा बमबारी गरिरहेको छ। उक्त हमलामा इजरायलतर्फ १ हजार ४ सय व्यक्तिको मृत्यु भएको थियो भने हमासले २२९ जनालाई बन्धक बनाएको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको जवाफी बमबारी सुरु भएदेखि हालसम्म ७ हजार ७ सयभन्दा बढी मानिसहरू मारिएको जनाएको छ। त्यसमध्ये ३ हजार ५ सय भन्दा बढी बालबालिका रहेका छन्। -बीबीसी