‘गाजा’ बालबालिकाको चिहान बन्दै !

२०८० कार्तिक २१ गते, मंगलवार

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा “मानवीय संकट” बाट गुज्रिरहेको र प्यालेस्टाइन क्षेत्र द्रुत रूपमा “बालबालिकाहरूको चिहान” बन्दै गएको बताएका छन्। सन् २०१७ देखि संयुक्त राष्ट्र संघको नेतृत्व गर्दै आएका गुटेरेसले भने, “हरेक दिन सयौं बालबालिका मारिएका छन् वा घाइते भइरहेका छन्।” उनले द्वन्द्वले “संसारलाई हल्लाएको” र धेरै “निर्दोष जीवन बर्बाद भएको” बताए ।
गुटेर्रेसले अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको पुन: निन्दा गर्दै हमास लडाकुहरूले सर्वसाधारणलाई मानव ढालको रूपमा प्रयोग गरेको बताएका छन्। उनले भने, ‘सर्वसाधारणको हत्या, यातना, अपहरण कुनै पनि हालतमा जायज हुन सक्दैन । आम जनताको सुरक्षा अत्यन्तै महत्वपूर्ण हुनुपर्छ ।”
एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय समुदायलाई अपील गर्दै यो द्वन्द्व “फराकिलो क्षेत्रमा फैलिने खतरा” रहेको त्यसैले यसलाई तुरुन्तै रोक्न आवश्यक भएको बताए ।उनले भने – “हामीले पहिले नै लेबनान र सिरियादेखि इराक र यमनमा बढ्दो हिंसा देखिरहेका छौं। ”
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ जसमा ४ हजार १ सय भन्दा बढी बालबालिका छन्। यो द्वन्द्व ठीक एक महिनाअघि इजरायलमा हमासको आक्रमणबाट सुरु भएको थियो। त्यसयता इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ र इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा पनि जमिन आक्रमण गरिरहेको छ ।
इजरायलमा हमासको आक्रमणमा कूल १४०० जनाको मृत्यु भएको थियो र २०० भन्दा बढी मानिस हमासले बन्धक बनाएका थिए।

प्रतिक्रियाहरु

[anycomment]