युद्धविरामपछि प्यालेस्टिनीहरू घर फर्किंदै

२०८० मंसिर ९ गते, शनिबार

काठमाडौँ । इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम शुक्रबार बिहानदेखि लागू भएको छ । यस युद्धमा उत्तरी गाजाका हजारौं मानिसहरू आफ्नो घरबार छोडेर दक्षिणतर्फ सर्नुपरेको थियो। शुक्रबार चार दिने युद्धविराम सुरु हुँदा खान युनिसबाट धेरै विस्थापित प्यालेस्टाइनीहरू आ-आफ्नो घरतिर लागेका थिए। इजिप्टको सिमानामा रहेको रफाह क्रसिङमा गाजालाई सहयोग गर्न पठाइएका राहत सामग्रीले भरिएका गाडीहरू गाजा प्रवेश गर्न थालेका छन् ।
यद्यपि इजरायली सेनाले उत्तरी गाजातर्फ नजान मानिसहरूलाई सल्लाह दिने पर्चाहरू खसालेको छ। उसका अनुसार ‘यो रोक अस्थायी हो र गाजाको उत्तरी क्षेत्र युद्ध क्षेत्र हो।’
धेरै इजरायली ट्याङ्क र बख्तरबंद गाडीहरू उत्तरी गाजाबाट बाहिर निस्किएको देखियो।
यसैबीच, प्यालेष्टिनी विद्रोही समूह हमासले इजरायली,थाई र फिलिपिन्सका बन्धक बनाएका २४ जना नागरिकलाई रिहा गरेको छ । राहत कार्यमा संलग्न संस्था रेडक्रसले हमासले बन्धक बनाइएका २४ जनालाई रिहा गरेको पुष्टि गरेको हो । रेडक्रसले सामाजिक सञ्जालको पोस्टमा भनेको छ, ‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी खुसी छौं ।’ अर्को पोस्टमा, संगठनले भनेको छ, ‘दुई पक्षहरू बिच तटस्थ भूमिका खेल्दै, हामीले यी बन्धकहरूलाई गाजाबाट निकालेर इजिप्टको रफाह सीमामा ल्यायौ ं।’
हमास र इजरायलबीच मध्यस्थता गर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले रिहा गरिएकामा १३ इजरायली नागरिक, १० थाई र १ जना फिलिपिन्सका नागरिक रहेको बताएका छन् ।
यसअघि इजरायली सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार हमासले १३ इजरायली बन्धकहरूलाई राहत कार्यमा संलग्न संस्था रेडक्रसलाई हस्तान्तरण गरेको बताइएको थियो । यसअघि हमासले थाइल्याण्डका केही बन्धकहरूलाई रिहा गरेको थियो । सबै बन्धकहरूलाई रफाह क्रसिङ हुँदै इजिप्ट लगिएको छ । हमासले बन्धकहरूलाई रेडक्रसलाई कहाँ सुम्पेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन । इजिप्टले इजरायली बन्धकहरू इजिप्ट पुगेको जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]