आप्रावसी बस्ने भवनमा आगलागी: तीन जनाको मृत्यु

काठमाडौँ । फ्रान्सको पेरिसस्थित एक भवनमा आगलागी हुँदा तीन महिलाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्। जसमध्ये १ जनाको अवस्था चिन्ताजनक छ। पेरिसबाट करिब १५ किलोमिटर टाढा रहेको आप्रवासी बाहुल्य सहर स्टेन्सको एउटा भवनको तहखानेमा दिउँसो २ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। पेरिसका प्रहरी अधिकारीका अनुसार मृत्यु हुने तीनै महिला हाइटीका थिए । ती मध्ये एक महिला भवनको तेस्रो तल्लामा भाडामा लिने थिइन्। उनीसँगै उनकी बहिनी र साथी पनि थिइन्, जो बेलुकाको खानापछि त्यहीँ बसेका थिए । आगलागीको सूचना पाएर दमकलका २४ वटा गाडी घटनास्थलमा पुगेका थिए।
भवनमा आगो लागेपछि उद्धार कार्यमा दमकलका कर्मचारीले निकै मिहिनेत गर्नुपरेको थियो । यस अवधिमा तीनै महिलाको शव फेला पार्न रातभरी लागेको थियो। अधिकारीका अनुसार आगलागीका कारण ६ वर्षीय बालक गम्भीर घाइते भएका छन् । उनी पहिलो तल्लामा आफ्ना आमाबुवा र दुई वर्षकी बहिनीसँग बस्थे। २४ दमकल र ८८ फायर फाइटरहरूले आगो नियन्त्रण गर्न कडा मेहनत गर्नुपरेको थियो र एक फायर फाइटर सामान्य घाइते भएका थिए। यस क्रममा भवनमा रहेका अन्य व्यक्तिलाई बाहिर निकालेर खेलकुद हलमा आश्रय दिइएको थियो।
पेरिस शहरका मेयर अजेदिन तैबीका अनुसार भवन मर्मत गर्नुपर्ने थियो। यसका लागि भवनमा बस्ने करिब १५ जनालाई आगामी बुधबार अस्थायी आवासमा सारिने भएको छ। यसबाहेक भवन भत्किने नभए पनि यसमा धेरै किसिमका काम गर्नुपर्ने स्थानीय पार्षदले बताए । यद्यपी यस क्रममा आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको छ।