रसियन फोर्समा भर्ती भएका नेपाली युवा युक्रेनी सेनाको कब्जामा

काठमाडौँ । रसियन फोर्समा भर्ती भएका काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ ढकालथोक घर भएका सिद्धार्थ ढकाल युक्रेनी सेनाको कब्जामा परेको भिडियो सार्वजनिक भएको छ। करिब २ महिना अघि रोजगारीको क्रममा रसिया पुगेका उनी रसियन फोर्समा भर्ती भएका थिए। सार्वजनिक भएको भिडियोमा उनले आफू एक्लो छोरो भएको,परिवारलाई धेरै सम्झिएको र उद्धारका लागि पहल गरिदिन पनि सरकारसँग गुहार गरेका छन्। नेपाली नागरिक रसियन सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ६ जनाको निधन भएको छ। प्रधानमन्त्री प्रचण्डले रसियन सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ६ जना नेपालीकाे निधन भएकाे बताएका हुन्।
यसअघि रुसस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयललाई एक पत्रमार्फत जानकारी गराउँदै तीन जना नेपालीको रुस युक्रेन जारी युद्धमा निधन भएको पुष्टि गरेको थियाे। मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, दोलखाको मेलुङ-६ का राजकुमार रोक्का र इलाम-५ का गंगाराज मोक्तानकाे निधन भएकाे पुष्टि भएकाे छ। रुसी नियम अनुसार उनीहरुको शव नेपाल ल्याउन पनि कठिन रहेको बताइन्छ। गोरखाका सन्दीप थपलियाको भने यसअघि नै मृत्यु भएर उनको अन्त्येष्टि रुसमा नै गरिएको बताइएको छ।