इन्डोनेसियाद्वारा २० देशका पर्यटकलाई ‘फ्रि भिसा’

काठमाडौँ । इन्डोनेसियाले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकका लागि ‘फ्रि भिसा’ नीति लागू गर्ने भएको छ । इन्डोनेसियाका पर्यटनमन्त्री सान्डियागा युनोले बिहीबार सो नीतिबारे जानकारी गराएका हुन् । “फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
आधिकारिक रूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिनाअगाडि नै अन्तिम रूप दिने उनले जानकारी गराएका छन्। इन्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने लक्ष्य राखेको छ । त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ ।
“आशा छ हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको सङ्ख्या बढाउन सक्छौँ। विशेषगरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्ष्य गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ, “युनोले भनेका छन् ।