इजरायलद्वारा गाजापट्टीमा युद्ध जारी राख्ने अडान

काठमाडौँ । इजरायलले गाजापट्टीमा युद्ध जारी राख्ने अडान दोहोर्याएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा क्षेत्रमा युद्ध जारी राख्ने बताएका हुन् । गाजापट्टीमा आक्रमण रोक्न विश्व समुदायले दबाब बढाइरहेका बेला उनले इजरायलले चाहे अनुसारको जित हासिल नगरेसम्म स्थल तथा हवाइ आक्रमण जारी राख्ने बताए भने विदेशमन्त्री एली कोहेनले अहिलको समयमा युद्ध रोक्नु भनेको आतंकवादी संगठन हमासको लागि उपहार हुने तर्क गर्दै गाजापट्टीमा अन्तर्राष्ट्रिय समर्थन बिना पनि युद्ध जारी रहने बताए ।
संयुक्त राष्ट्र संघको महासभाले मङ्गलबार गाजामा युद्धविरामको माग गर्दै गैर बाध्यकारी प्रस्तावलाई अत्यधिक बहुमतले पारित गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायलले गाजामा अन्धाधुन्ध बमबारी जारी राख्दा विश्वव्यापी समर्थन गुमाउन थालेको बताएको छ । उता वेष्ट बैंक र गाजापट्टीमा भने युद्धपीडितहरुको बिचल्ली भएको छ । बुधबार रातीको आँधीले विभिन्न शिविरमा आश्रय लिएर बसेका हजारौ प्यालेस्टिनीहरूको अवस्था बिग्रिएको हो ।
गाजामा इजरायली आक्रमणमा परि हालसम्म १८ हजार ६ सय प्यालेस्टाइनी नागरिक मारिएको बताइएको छ । अक्टोबर ७ तारिखमा हमास लडाुकले इजरायल प्रवेश गरेर आक्रमण गर्दा १२ सयभन्दा बढी इजरायली नागरिक मारिएका थिए । -एजेन्सी