रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु
काठमाडौँ । रुसी सेनामा कार्यरत अर्का नेपाली युवक कुन्दनसिंह नागलको मृत्यु भएको छ। युक्रेनसँगको युद्धमा रुसी सेनाको तर्फबाट खटिएका कुन्दनसिंह नागलको मृत्यु भएको हो। बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपाली नागरिक नागलको रुस-युक्रेन युद्धमा ज्यान गएको पुष्टि गरेको छ।
परराष्ट्र मन्त्रालयले भनेको छ – ‘रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक कुन्दन सिंह नागल (राहदानी नं. ०९४७३६३२) को दुःखद निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ।’ नागलका विषयमा थप जानकारी सार्वजनिक गरेको छैन। परराष्ट्र मन्त्रालयले उनको ठेगानामा पनि खुलाएको छैन।
उनीसहित रुस-युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या सात पुगेको छ। यसअघि रुसी सेनामा भर्ती ६ जना नेपाली युवकले ज्यान गुमाएका थिए।
त्यस्तै, रुसी सेनामा भर्ती भएका चार जना नेपाली युवक युक्रेनमा बन्दी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। बर्दियाको राजापुर-१ का विवेक खत्री, काभ्रेपाल्चोकको मण्डनदेउ-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई र रोल्पाको रुन्तिगढी-८ का प्रतिक पुन युक्रेनले बन्दी बनाएको छ।
उनीहरू रुसी सेनामा भर्ना भएर युक्रेन युद्धमा खटिएका थिए। युद्धका क्रममा युक्रेनी सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
युक्रेनमा बन्दी बनाइएका चारै जनाको रिहाइका लागि रेडक्रस लगायत संघसंस्थाका माध्यमबाट कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ।