अमेरिका र बेलायतद्वारा हुथी समुहविरुद्ध हवाई हमला

२०८० पुष २७ गते, शुक्रबार


काठमाडौँ । अमेरिका र बेलायती सेनाले यमनमा हुथी विद्रोही समुहविरुद्ध हवाई आक्रमण सुरु गरेको छ । यमनको राजधानी साना, हुदीदाहको बन्दरगाह, धामार सहर र उत्तर–पश्चिमी हुथी गढ सादामा एकसाथ आक्रमण भएको बताइएको छ । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाए अनुसार विमान, जहाज र पनडुब्बीबाट एकसाथ आक्रमण गरिएको छ ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नो मन्त्रिपरिषद्लाई हुथी विद्रोहीमाथि हुने सम्भावित बेलायती र अमेरिकी आक्रमणबारे जानकारी गराएलगत्तै आक्रमण थालिएको हो । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ताले लाल सागरमा कार्गो पानी जहाजमाथि हुथी विद्रोहीले लगातार आक्रमण गरेपछि प्रतिकार सुरु गरिएको बताए ।
अमेरिकी सुरक्षा मुख्यालय पेन्टागनका अधिकारीहरूका अनुसार हुथी समूहले नोभेम्बर १९ यता जहाजमा २७ वटा आक्रमण गरेको छ ।
यमनको धेरैजसो भूभाग नियन्त्रण गर्ने इरान समर्थित हुथी समूहले प्यालेस्टाइनको हमास लडाकु समुहको समर्थन भन्दै लाल सागरबाट इजरायलतर्फ जाने जहाजलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]