अमेरिकी सैनिकद्वारा वासिङ्टनस्थित इजरायली दूतावास अगाडि आत्महत्या

काठमाडौँ । अमेरिकी वायुसेनाका एक सैनिकले वासिङ्टनस्थित इजरायली दूतावास अगाडि आत्महत्या गरेका छन । उनलाई आगो लागेको अवस्थामा आइतबार अस्पताल भर्ना गरिएको थियो जहाँ उनको मृत्यु भएको थियो । आफूलाई आगो लगाउनु अघि, एयरम्यानले “नरसंहारमा भाग नलिन” अपील गरेका थिए।
टेक्सासको एन्टोनियो सिटीका बासिन्दा २५ वर्षीय एरोन बुसनेलको अमेरिकी वायुसेनाका पाइलटको रूपमा पहिचान भएको छ । आफूलाई आगो लगाउनुअघि उनले लाइभ स्ट्रिमिङ पनि गरेका थिए, जसमा उनले कथित रूपमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको देख्न सकिन्छ। एकै झट्कामा आगो माथितिर उठ्न थाल्छ र नजिकै रहेका मानिसहरू चिच्याएको सुनिन्छ।
आफूलाई आगो लगाउनु अघि, एयरम्यानले आफ्नो भिडियोमा आफू प्यालेस्टाइनका जनताको साथमा रहेको र नरसंहारमा सहभागी नहुन भनेको सुनिन सकिन्छ। घटनापछि अमेरिकी वायुसेनाले उक्त व्यक्ति सेनाको सक्रिय सदस्य भएको पुष्टि गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार आफूलाई आगो लगाएपछि उक्त व्यक्तिले भुइँमा नलडेसम्म ‘फ्री प्यालेस्टाइन’को नारा पनि लगाएका थिए।
गोप्य सेवाका अधिकारीहरूले आगो निभाए र उनलाई तत्काल अस्पताल लगिएको बताइएको छ। सामाजिक सञ्जालमा देखिएको भिडियोमा ती व्यक्तिले आफूलाई अमेरिकी वायुसेनाको सक्रिय सदस्य बताउँदै आएका छन् । तर, प्रहरीले उक्त भिडियोको पुष्टि गरेको छैन । एयरम्यानले आइतबार दिउँसो १ बजे इजरायली दूतावास बाहिर आफैंलाई आगो लगाएका थिए ।
वासिङ्टन पुलिसले एयरम्यानको ‘आत्महत्या’ मामिलाको अनुसन्धान गरिरहेको छ। बुसनेलको रूपमा चिनिने एयरम्यानलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो। अमेरिकास्थित इजरायली दूतावास बाहिर कसैले आत्महत्याको प्रयास गरेको यो पहिलो पटक भने होइन । डिसेम्बरमा, जर्जियामा इजरायली वाणिज्य दूतावास बाहिर एक प्रदर्शनकारीले आफूलाई आगो लगाए। – एजेन्सी