युक्रेनको ‘ह्यारी पोटर क्यासल’ ध्वस्त

काठमाडौँ । रुसी मिसाइल आक्रमणवाट युक्रेनको ह्यारी पोटर क्यासल ध्वस्त भएको छ। ‘ह्यारी पोटर क्यासल’ भनेर चिनिने युक्रेनी भवन ध्वस्त हुनुका साथै कम्तीमा पाँच जनाको मृत्यु भएको छ। न्युज पोर्टल द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार गोथिक शैलीमा बनेको महल र वरपरका आवासीय भवनमा समेत क्षति पुगेको छ । यस ह्यारी पोटर महलमा एक निजी कानून संस्थान चलिरहेको थियो। मिसाइल आक्रमणपछिको भिडियोमा भवनमा ठूलो आगो लागेको देखिन्छ ।
ओडेसामा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो हमलामध्येको यो एक हो । जसमा रुसी सेनाले सहरमा मिसाइल, ड्रोन र बम प्रहार गर्यो, जसका कारण समुद्री तट क्षेत्रमा रहेको प्रसिद्ध शैक्षिक संस्था जलेको थियो । लगभग २५ महिना अघि युक्रेनमा युद्ध सुरु भएदेखि ओडेसाको बन्दरगाह सहर बारम्बार रुसी मिसाइल र ड्रोन आक्रमणको निशाना बनेको छ।
क्षेत्रीय गभर्नर ओलेह किपरले टेलिग्राममा भने – गर्भवती महिला र चार वर्षको बच्चा सहित कम्तिमा ३२ जना घाइते भएका छन् र उनीहरूको अवस्था गम्भीर छ। आक्रमणमा परी मृत्यु हुनेहरु बाहेक एक जनाको स्ट्रोकका कारण मृत्यु भएको छ ।
युक्रेनी नौसेनाका प्रवक्ता दिमिट्रो प्लेटेन्चुकले सैन्य टेलिग्राम च्यानलमा पोस्टमा भने – आक्रमणमा क्लस्टर वारहेडसहितको इस्कन्डर-एम ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको थियो। ती मिसाइलहरूलाई रोक्न गाह्रो छ। रुसले पछिल्लो आक्रमणको बारेमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन। ओडेसाका मेयर हेन्नाडी ट्रुखानोभले रुसले समुन्द्रको किनारमा हिँड्न जान लागेका मानिसहरूलाई गोली हानेर मारेको बताए। – एजेन्सी