बेलायतमा लेबर पार्टी सत्तामा फर्किंदै

२०८१ असार २१ गते, शुक्रबार


काठमाडौँ । बेलायतमा लेबर पार्टीले सरकार गठनका लागि आवश्यक बहुमत ३ सय २६ सिट संख्या पार गरिसकेको छ। योसंगै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किंदै छ। लेबर पार्टीले ३० वर्षअघि अर्थात् १९९७ मा अहिलेसम्मकै ठूलो जित अर्थात् ४१९ सिट जितेको थियो। जतिबेला लेबर पार्टीका नेता टोनी ब्लेयर थिए। त्यस बखत कन्जरभेटिभ पार्टी १६५ सिटमा सीमित भएको थियो।
एक्जिट पोलको भविष्यवाणी सही साबित भयो भने यसपटक लेबर पार्टीका नेता किएर स्टार्मर ४१० सांसदका साथ प्रधानमन्त्री बन्नेछन्। तथापि यो जित पनि सन् १९९७ को भन्दा त कम नै हुनेछ। पछिल्लोपटक सन् २०१० को आम चुनावमा कन्जरभेटिभ पार्टी विजयी भएको थियो भने डेभिड क्यामरुन प्रधानमन्त्री बनेका थिए।

यसैबीच, बेलायतकी पूर्वप्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले चुनाव हारेकी छन्। उनी साउथ वेस्ट नोर्फोक सिटमा टेरी जेरेमीसँग ६३० मतान्तरले हारेकी हुन्। विजयी टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गरे भने लिज ट्रसले ११ हजार २ सय १७ मत मात्र पाइन्।
हारपछि ट्रसले भनिन्, ‘धेरै नीतिहरूमा हामीले जनताले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेनौँ। हाम्रो पार्टी करको दर घटाउन र आप्रवासन घटाउन असफल भयो।’
ट्रसको पराजयबारे गृहमन्त्री जेम्स क्लेभरलीले भने- ‘उहाँको हार निराशाजनक छ। लिज हाम्री साथी र अद्भुत सहकर्मी हुनुहुन्छ। हामीले हाम्रा गल्तीबाट पाठ सिक्नुपर्छ र सकेसम्म चाँडो सरकारमा फर्कने प्रयास गर्नुपर्छ।’- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]