बाइडेन राष्ट्रपति दौडबाट बाहिरिए , कमला ह्यारिसलाई अवसर प्रदान

२०८१ श्रावण ७ गते, सोमबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागको घोषणा गरेका छन्। बाइडनकै पार्टी डेमोक्र्याटिकबाटै विगत केही सातादेखि बाइडनलाई राष्ट्रपति दौडबाट पछि हट्न व्यापक दवाब आएपछि बाइडनले उम्मेद्वारी त्यागको घोषणा गरेका हुन्। बाइडनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिका रुपमा समर्थन समेत गरेका छन्।
बाइडेनले अमेरिकी नागरिकलाई सम्बोधन गर्दै एक्समार्फत जारी गरेको विज्ञप्तिमा आगामी नोभेम्बरमा हुने निर्वाचनको दौडबाट आफू पछि हटेको जानकारी दिएका हुन् । ‘राष्ट्रपतिका रूपमा तपाईंहरूको सेवा गर्न पाउनु मेरा लागि सबैभन्दा ठूलो सम्मान हो । मेरो पुनर्निर्वाचित हुने चाहना हुँदाहुँदै पनि म चुनावी प्रतिस्पर्धाबाट पछि हटेर बाँकी कार्यकालको जिम्मेवारी केन्द्रित हुनु पार्टी र देशको हितमा हुने मलाई विश्वास छ,’ बाइडेनले भनेका छन् ।
साथै उनले आफ्नो साढे तीन वर्षको कार्यकालमा मुलुकले उल्लेख्य प्रगति गरेको दाबीसमेत गरेका छन् । त्यस्तै बाइडेनले कोभिड महामारी र त्यसका कारण सिर्जित आर्थिक संकटबाट मुलुकलाई बाहिर ल्याएको र लोकतन्त्रको रक्षा गरेको समेत उल्लेख गरेका छन् । उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिसलाई पूर्ण रूपमा समर्थनसहित सहयोग गर्ने उल्लेख गरेका छन् ।
‘२०२० मा उपराष्ट्रपतिको उम्मेदवारमा कमला ह्यारिसलाई पार्टीका तर्फबाट छनोट गर्ने मेरो जीवनकै उत्कृष्ट निर्णय थियो, आज फेरि म उनलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा पूर्ण सहयोग र समर्थनसहित अनुमोदन गर्छु ।’ डेमोक्रेटिक पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनले ह्यारिसको उम्मेदवारी अनुमोदन गर्नेछ ।
८१ वर्षीय बाइडेन हाल कोभिड संक्रमणको उपचार गराइरहेका छन् । बाइडेनको उमेर र स्वास्थ्यलाई लिएर स्वयं उनकै पार्टीभित्र पनि प्रश्न उठ्दै आएको थियो । उनले आफ्नो निर्णयबारे जानकारी दिन आउने साता राष्ट्रका नाममा सम्बोधन गर्नेसमेत जनाएका छन् ।
राष्ट्रपतिका अर्का उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्पसँगका दुई वटा चुनावी बहसमा फितलो प्रस्तुति दिएको भन्दै डेमोक्रेटिक पार्टीभित्रै चर्को आलोचना भएको थियो । ती चुनावी बहसपछि पार्टीभित्र राष्ट्रपतिको उम्मेदवारमा विकल्प खोज्नुपर्ने माग सुरु भएको थियो ।
अमेरिकामा बहालवाला राष्ट्रपतिले दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नउत्रिएको यो दोस्रो पटक हो । यसअघि सन् १९६८ मा लिन्डन जोनसनले पनि दोस्रो कार्यकालका लागि चुनावमा भाग लिएका थिएनन् ।
पूर्वराष्ट्रपति ट्रम्पले त बाइडेनप्रति तिखो आलोचना गर्दै आएका छन् । बाइडेनको चुनावी दौडबाट पछि हट्ने निर्णय सार्वजनिक भएलगत्तै ट्रम्पले अमेरिकी सञ्चार संस्था सीएनएनलाई प्रतिक्रिया दिँदै बाइडेनलाई अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा दिएका छन् ।
गत साता पेन्सलभेनिया राज्यमा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट उनको कानमा चोट लागेको थियो । विभिन्न सर्वेक्षणले राष्ट्रपतिको दौडमा ट्रम्पलाई बाइडेनको तुलनामा निकै अगाडि देखाएका थिए । पेन्सलभेनिया घटनापछि सर्वेक्षणहरूले ट्रम्पलाई थप बलियो देखाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]