इजरायलद्वारा हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएको दावी

२०८१ श्रावण १६ गते, बुधबार


काठमाडौँ । इजरायलले हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएको दावी गरेको छ । इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको दाबी गरेको हो । लेबनानी सशस्त्र समूहको गढ मानिने दहियाहमा भएको विष्फोटमा शीर्ष कमाण्डर फुआद शुक्र मारिनुका साथै कैयौं घाइते भएको इजरायली दाबी छ ।
लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायली आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन भनि व्याख्या गरेका छन । इजरायली रक्षा मन्त्री योभ गैलान्टले भने हिजबुल्लाहले सीमा नाघेको भन्दै सशक्त कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
फुआद शुक्र हिजबुल्लाहका मुख्य योजनाकारका रुपमा परिचित रहनुका साथै उनकै कमाण्डमा इजरायलमा आक्रमण हुने गरेको बुझिएको छ । लेवनानको दहियाह क्षेत्र हारेत अधिक जनसंख्या भएको र हिजबुल्लाहको बलियो किल्लाको रुपमा परिचित छ ।
इजरायली कब्जामा रहेको क्षेत्र गोलान हाइट्समा गत साता भएका आक्रमणमा हिजबुल्लाह जिम्मेवार रहेको इजरायलले लगाइरहेको आरोप भने हिजबुल्लाहले अस्वीकार गर्दै आएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]