थाइल्याण्डको मुभ फरवार्ड पार्टी भंग गर्न आदेश : नेताहरूमाथि १० वर्ष प्रतिबन्ध

२०८१ श्रावण २४ गते, बिहीबार


काठमाडौँ । थाइल्याण्डको संवैधानिक अदालतले सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै भंग गर्न आदेश दिएको छ । बैंककस्थित संवैधानिक अदालतले एक मतले गरेको फैसलामा पार्टीको कार्यकारी बोर्डलाई समेत प्रतिबन्ध लगाइएको छ । पार्टीका पूर्वनेता पिता लिम्जारोएन्राट र अहिलेका प्रमुख चाइथावात टुलाथन समेत प्रतिबन्धमा परेका छन् । उनीहरूलाई १० वर्षसम्म प्रतिबन्ध लगाइएको हो ।
उक्त पार्टीले सन् २०२३ को आमचुनावमा सबैभन्दा धेरै सिट जितेको थियो । पार्टीलाई सहरी युवा जमातले मन पराएको थियो । शाही मानहानिसम्बन्धी कानुनको कडा प्रावधानमा सुधार गरिनुपर्ने एजेन्डा समेत पार्टीको थियो । सो पार्टीलाई जिताउने श्रेय लिम्जारोएन्राट र टुलाथनलाई दिने गरिन्छ ।
पार्टीका पूर्वनेता पितालाई प्रधानमन्त्री हुनबाट तत्कालीन सेनाद्वारा नियुक्त सिनेटले रोक लगाएको थियो । यो वर्षको सुरुमा पनि निर्वाचन आयोगले देशको सर्वोच्च अदालतलाई उक्त पार्टी विघटनको आग्रह गरेपछि पिताको राजनीतिक करियरमा नै धक्का लागेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]