ग्रीसको जङ्गलमा भिषण आगलागी
काठमाडौँ । ग्रीसको जङ्गलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । दुई दिन अघिदेखि लागेको आगो फैलिन थालेपछि जोखिमयुक्त क्षेत्रबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ ।
आगलागीका कारण एथेन्समा वायु प्रदुषण र तापक्रम बढेको छ । हावाको तीव्रतासँगै आगो ३० किलोमिटरसम्म फैलिएर बस्तितर्फ सरिरहेको छ । एथेन्सबाट २० किलोमिटर उत्तर पूर्वमा पर्ने वरनाभासमा धेरै घरमा आगलागी भएको छ ।
सम्भावित क्षतिलाई मध्यनजर गरेर यस क्षेत्रमा बालबालिका र सेनाका अस्पताल खाली गराइएको छ । आगो निभाउन छ सय ७० वटा दमकल परिचालन गरिएको छ ।
सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेपछि फ्रान्स, इटाली, चेक गणतन्त्र र रोमानियाले आगो निभाउन ग्रीसमा विमान पठाएका छन् । ग्रीसमा पहिलोपटक यति ठूलो आगलागीको घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।-एजेन्सी