अमेरिकाद्वारा हसिनाको सत्ता खोसेको आरोप अस्वीकार

२०८१ श्रावण २९ गते, मंगलवार


काठमाडौँ । अमेरिकाले बंगलादेशमा शेख हसिनाबाट सत्ता खोस्नुमा आफ्नो भूमिका नरहेको बताएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जीन पियरेले अमेरिकाले हसिनाको सत्ता खोसेको आरोप अस्वीकार गर्दै भनिन्- “यसमा हाम्रो कुनै संलग्नता छैन। हालैका घटनाहरू (बंगलादेशमा सत्ता परिवर्तन) मा अमेरिकी सरकारको हात रहेको कुनै पनि रिपोर्ट गलत हो। सबै हल्लाहरू हुन्। यो विकल्प बंगलादेशका नागरिकहरूले आफैंले रोजेका हुन्। बंगलादेशका जनताले त्यहाँको सरकारको भविष्य निर्धारण गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ। मैले कुनै पनि आरोपमा सत्यता छैन भनेकी छु र पछि पनि यही भनिरहनेछु ।”

यसअघि शेख हसिनाले आफ्नो सरकारको पतनमा अमेरिकाको हात रहेको आरोप लगाएकी थिइन् । हसिनाले सेन्ट मार्टिन टापु अमेरिकालाई नदिएका कारण आफूलाई विस्थापित गरिएको बताएकी थिइन् । उनका अनुसार उनले सेन्ट मार्टिन टापु दिएको भए अमेरिका बङ्गालको खाडीमा आफ्नो प्रभुत्व कायम गर्न सक्षम हुने थियो । उनले बंगलादेशी नागरिकलाई कट्टरपन्थीको भ्रममा नपर्न आग्रह गरेकी थिइन् । शेख हसिना हाल भारतमा छिन्। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]