चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसामुक्त नीति

२०८१ मंसिर ८ गते, शनिबार


काठमाडौँ । चीनले २९ देशका लागि एकपक्षीय भिसामुक्त नीति लागू गरेको छ। चिनियाँ विदेश मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले अन्तरराष्ट्रिय यात्राका साथै पर्यटन प्रवर्द्धन गर्न फ्रान्स, जर्मनी‚ स्पेनलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्त नीति लागू गरेको जनाएका छन्।
मन्त्रालयले सन् २०२३ डिसेम्बर १ देखि फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेशियाका साधारण पासपोर्टधारीका लागि एकपक्षीय भिसामुक्त प्रवेश परीक्षणको घोषणा गरेको हो। यो नीतिअन्तर्गत सम्बन्धित व्यक्तिहरु व्यापार, पर्यटन, पारिवारिक भ्रमणलगायतका लागि १५ दिनसम्म चीनमा रहन सक्ने छन्।
चीनले आफ्ना दूतावासमा भिसा आवेदनअघि अपोइन्टमेन्ट लिनुपर्ने बाध्यता अन्त्य गर्दै औँठाछाप सङ्कलनको छुट विस्तार गरी भिसा शुल्कमा समेत २५ प्रतिशत घटाएको टोङले बताए।
सन् २०२४ को तेस्रो त्रैमासिकमा विदेशीहरुले ८० लाख १९ हजार यात्रा चीनमा गरेका छन्, जुन गत वर्षको त्यही अवधिको तुलनामा ४८ दशमलव ८ प्रतिशत बढी हो। अधिकारीका अनुसार तीमध्ये ४० लाख ८९ हजार विदेशी भिसामुक्त व्यवस्थामार्फत आएका थिए।
मन्त्रालयले विशेष गरी व्यापारिक गतिविधिमा संलग्न व्यक्तिहरुका लागि सीमापार यात्रा सहज बनाउन भिसामुक्त प्रवेश नीति परिष्कृत गरी जारी राख्ने टोङले उल्लेख गरे।

प्रतिक्रियाहरु

[anycomment]