इजरायल र हिजबुल्लाहबिच युद्धविरामको सम्झौता

२०८१ मंसिर १२ गते, बुधबार


काठमाडौँ । इजरायल र लेबनानको हिजबुल्लाह समुहबिच युद्धविरामको सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको औपचारिक घोषणा गरेका हुन् । उनका अनुसार उक्त सम्झौता आज बिहानबाट लागु भएको छ ।
युद्धविराम सम्झौता हुनुभन्दा केही घण्टा अघिमात्रै इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरहरूमा व्यापक हवाई हमला गरेको थियो । इजरायली सेनाले लगभग दुई महिना अघि लेबनानमा स्थल तथा हवाई हमला तिव्र पारेको थियो ।
सम्झौता अनुसार इजरायली सेना ६० दिनभित्र लेबनानबाट फर्किनेछ भने हिजबुल्लाहका लडाुकुले इजरायली सिमासँग जोडिएको लेबनानको दक्षिणी क्षेत्र छोड्नेछन् । उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेनाले सुरक्षा दिनेछ ।
लेबनानमा गरिएको युद्धविरामले गाजापट्टीमा जारी इजरायलको युद्धलाई भने असर नगर्ने बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]