मायोट द्वीपमा शक्तिशाली तुफान : १०० जनाको मृत्यु, हजारौं व्यक्ति प्रभावित

काठमाडौँ । हिन्द महासागरको मायोट द्वीपमा आएको ‘चिडो’ नामको चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको छ भने हजारौं व्यक्ति प्रभावित भएको बताइएको छ । ३ लाख २० हजार जनसंख्या रहेको मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान भनिएको छ । यो तुफानबाट हजारौं व्यक्तिहरु प्रभावित भएको र क्षतिग्रस्त क्षेत्रमा खोज, उद्धार र राहतको काम जारी छ । अहिलेसम्म ११ जनाको मात्र शव फेला परेको भनिए पनि मृतकको संख्या एक सयभन्दा बढी पुग्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । त्यहाँका हजारौं व्यक्तिहरु खाना, पानी र आवास विना बस्न बाध्य छन् ।
मायोट द्वीप फ्रान्सको राजधानी पेरिसबाट करिब ८ हजार किलोमिटर टाढा पर्दछ । फ्रान्सको गृह मन्त्रालयले त्यहाँ मृत्यु भएकाको संख्या दिन अहिल्यै नसकिने जनाएको छ ।
अधिकारीहरुले त्यहाँको भयावह अवस्था हेर्दा मृतकको संख्या १ हजारको संख्यामा हुन सक्ने आशंकासमेत गरेका छन् । घर, सडक, सरकारी कार्यालय र बिजुलीका पूर्वाधारहरुमा तुफानले क्षति पुर्याएको छ । अल जजिराका अनुसार मायोट द्वीपमा मुस्लिम समुदायको बसोबास छ । मुस्लिम समुदायमा २४ घण्टाभित्र शव गाड्ने संस्कार छ । तर त्यहाँको अवस्था हेर्दा मृतक पहिचान गर्नै केही दिनसम्म लाग्ने सम्भावना छ ।