दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योल पक्राउ

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार अनुसन्धानको टोलीले आज राष्ट्रपति युनलाई राष्ट्रपति निवासबाट पक्राउ गरेको हो । महाभियोगको सामना गरिरहेका राष्ट्रपति युनलाई पक्राउ गर्ने पहिलो प्रयास विफल भएपछि गरिएको दोश्रो प्रयासमा उनलाई पक्राउ गरिएको हो । दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो ।
भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन् । गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए । उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको उनको तर्क थियो । तर आफ्नै पार्टीका नेता र विपक्षी दललगायतको विरोधमा उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए । यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो । त्यसयता उनी पदबाट निलम्बित अवस्थामा छन् । यो विषय संवैधानिक अदालतमा विचाराधिन छ । दक्षिण कोरियाको कानुन अनुसार महाअभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ ।
उनले चालेको कदमको विषयमा सोधपुछ गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले तीनपटकसम्म उपस्थित हुन राष्ट्रपति योललाई भनेका थिए । तर, उनी उपस्थित नभएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै अदालतबाट पक्राउ पुर्जी लिएका थिए । पक्राउको विरोधमा उनका समर्थकहरुको ठूलो भिड जम्मा भएको थियो । पक्राउ परेपछि राष्ट्रपति योलले आफ्नो गिरफ्तारी गैरकानुनी भएको जिकिर गरेका छन् । तर रक्तपात रोक्न आफूले गिरफ्तारी स्वीकार गरेको उनले बताएका छन् ।