इलन मस्कविरुद्ध मुद्दा दायर

२०८१ माघ २ गते, बुधबार


काठमाडौँ । इलन मस्कविरुद्ध मुद्दा दायर भएको छ। अमेरिकाको सेयर बजार नियामकले मस्कविरुद्ध ट्विटरको सेयर खरिदबारे समयमै जानकारी नदिएको आरोपमा मुद्दा दायर गरेको हो । सेक्युरिटीज एन्ड एक्सचेञ्ज कमिसन (एसईसी)ले मस्कले सेयर खरिद गर्दा सूचना नदिएकाले उनले ‘कृत्रिम कम मूल्यमा’ सेयर किनेका बताएको छ। जसबाट उनले करिब १५ करोड डलर जोगाएको एसईसीको दाबी छ।
एसईसीको नियमअनुसार कम्पनीमा कुनै पनि लगानीकर्ताको स्वामित्व ५ प्रतिशत नाघेपछि १० दिनभित्र सोको जानकारी दिनुपर्छ। तर, मस्कले २१ दिनपछि मात्र जानकारी दिएको एसईसीको उजुरीमा उल्लेख छ।
मस्कले सामाजिक सञ्जालमा एसईसीलाई ‘पूर्ण रूपमा बिग्रिएको संस्था’ भन्दै आलोचना गरेका छन्। साथै उनले वास्तविक अपराधहरू अनदेखा गरेर एसईसीले अनावश्यक मुद्दामा समय खर्च गरेको आरोप लगाए।
एसईसीको उजुरीमा भनिएको छ, ‘मस्कले नियम उल्लंघन गर्दा लगानीकर्ताहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ।’ मस्कका वकिल एलेक्स स्पाइरोले यो मुद्दालाई ‘नक्कली’ र ‘दुःख दिने अभियान’ भनेका छन्। एसईसीका अनुसार मस्कले सन् २०२२ अप्रिल ४ मा आफूले गरेको सेयर खरिद सार्वजनिक गरेपछि ट्विटरको सेयर मूल्य २७ प्रतिशतभन्दा बढीले बढेको थियो। मस्कले सन् २०२२ को अक्टोबरमा ४४ अर्ब डलरमा ट्विटर खरिद गरेर यसको नाम परिवर्तन गरी एक्स राखेका थिए। एसईसीले यो मुद्दा वाशिङ्टन डीसीको संघीय अदालतमा मंगलबार दर्ता गरेको हो। उजुरीमा मस्कले ‘अन्यायपूर्ण’ रूपमा कमाएको नाफा फिर्ता गर्न र जरिबाना तिर्न अदालतलाई आदेश दिन अनुरोध गरिएको छ।
एसईसीका प्रमुख गेरी गेन्स्लरले डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पद सम्हालेपछि आफूले राजीनामा दिने घोषणा गरेका छन्। ट्रम्पले आफ्नो प्रशासनको पहिलो दिनमा गेन्स्लरलाई बर्खास्त गर्ने घोषणा गरेका थिए। गेन्स्लरको नेतृत्वमा एसईसी र ट्रम्प निकट मस्कबीच पटक-पटक विवाद भएको थियो। तर, मस्कको एसईसीसँगको विवाद नयाँ होइन। सन् २०१८ मा एसईसीले मस्कमाथि लगानीकर्तालाई धोका दिएको आरोप लगाएको थियो। मस्कले टेस्लालाई निजीकरण गर्न आफूसँग ‘आर्थिक स्रोत सुरक्षित’ रहेको दाबी गरेका थिए। त्यसपछि मस्कले आरोप समाधान गर्दै टेस्लाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]