अमेरिकाले क्यानडा र मेक्सिकोको सामानमा २५ प्रतिशत अतिरिक्त महसुल असुल्ने !

२०८१ माघ १८ गते, शुक्रबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि २५ प्रतिशत अतिरिक्त महसुल लगाइने बताएका छन। । फेब्रुअरी १ देखि लागू हुने गरी अतिरिक्त कर लगाइने बताइएको छ यो कर ती देशबाट आउने तेलमा लागू हुन्छ कि हुन्न भन्नेबारे चाँहि निर्णय भइनसकेको ट्रम्पले बताएका छन् । ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
यी देशका सीमाबाट अमेरिकामा ठुलो सङ्ख्यामा भित्रिने अवैध आप्रवासी र लागू औषध नियन्त्रण गर्न यस्तो कदम चालिएको उनले बताए । चीनबाट आयात हुने सामानमा छिटोमा यही महिनादेखि १० प्रतिशत कर लाग्ने पनि ट्रम्पले बताएका छन् । तर उनले यसबारे थप विवरण भने दिएका छैनन् ।
चीनबाट अमेरिकामा फेन्टानिल तस्करी भइहरेको र यसका कारण सयौँ हजारौँको मृत्यु भइरहेको कुरालाई ट्रम्पले पुनः दोहोर्‍याए । चीनले यसको लागि पनि महसुल तिर्नु पर्ने उनको भनाइ थियो ।
आफ्नो चुनावी अभियानमा ट्रम्पले चीनमा बनेर अमेरिका आउने सामानमा ६० प्रतिशतसम्म अतिरिक्त महसुल लगाउने चेतावनी दिएका थिए । तर कार्यभार सम्हालेको पहिलो दिनमा उनले यसबारे कुनै कदम चालेनन् । आफ्नो प्रशासनलाई यस मामिलामा अध्ययन गर्न उनले आदेश दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]