युक्रेन युद्धबारे छलफल गर्न आपतकालीन शिखर सम्मेलन !

काठमाडौँ । युरोपेली नेताहरुले आगामी सातमको लागि युक्रेन युद्धबारे छलफल गर्न आपतकालीन शिखर सम्मेलन आयोजना गरेका छन् ।
अमेरिका र रूसले युरोपलाई बाहिर राख्दै युक्रेन युद्धबारे शान्ति वार्ता अगाडि बढाउने तयारी गरेपछि युरोपेली नेताहरुले बैठक बोलाएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पका युक्रेन विशेष दूतले युरोपेली नेताहरूसँग परामर्श गरिने तर युद्ध समाप्त गर्ने अमेरिका र रूस बीचको कुनै पनि वार्तामा सहभागी नगराउने अभिव्यक्ति दिएपछि युरोपेली नेता पेरिसमा भेला हुन लागेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले सम्मेलन मार्फत अमेरिका र युरोपलाई सँगै ल्याउने र युक्रेनमा शान्तिका लागि एकजुट दृष्टिकोण सुनिश्चित गर्नुपर्ने बताएका छन् । यसअघि, युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युरोपको सेना गठन गर्न आह्वान गरेका थिए ।
म्युनिख सुरक्षा सम्मेलनमा उनले अमेरिकी उपराष्ट्रपति जेड भान्सको भाषणले युरोप र अमेरिकाको पुरानो सम्बन्ध अन्त्य भइरहेको बताएका हुन् । जेलेन्स्कीले आफूहरुको संलग्नताबिना कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन् । युक्रेन युद्ध अन्त्य तथा शान्ति वार्ताका लागि साउदी अरबले पहल गर्ने भएको छ ।
अमेरिकी अधिकारीहरुले छिट्टै वरिष्ठ अधिकारीहरु रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न साउदी अरब पुग्ने पुष्टि गरेका हुन् । अमेरिकाबाट विदेश मन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि ह्वाइट हाउसका दूत स्टिभ विटकफ साउदी अरब जाने समाचारमा उल्लेख छ । -एजेन्सी