५० लाख डलर तिरेर अमेरिकामा स्थायी बसोवासको अनुमति लिन सकिने !

२०८१ फाल्गुन १४ गते, बुधबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकले ५० लाख डलर तिरेर अमेरिकामा स्थायी बसोबास गर्न, काम गर्न वा व्यापार गर्न अनुमति पाउने घोषणा गरेका छन् । ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनेछन् । साथै नागरिकता पाउने सहज बाटो खुल्नेछ ।
ट्रम्पले ओभल अफिसबाट भने -‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं। तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ। हामी यसको मूल्य ५० लाख डलर तोक्नेछौं, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन्।’

सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले यस्तो गोल्ड कार्ड रुसी प्रभावशाली व्यापारीहरूलाई पनि बेचिने बताएका छन् । उनले केही रुसी धनाढ्यहरू अत्यन्तै राम्रा मान्छेका रूपमा आफूले चिनेको बताएका छन् । ट्रम्पले रुसी नागरिकलाई लक्षित गरी यस्तो योजना अघि सारिएको अनुमान गरिएको छ ।

अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले यस्तो कार्डले अमेरिकी सरकारको इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसालाई विस्थापित गर्ने बताए । इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसा विदेशी लगानीकर्तालाई अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्ने प्रयोजनका लागि दिने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]