ट्रम्प र जेलेन्स्कीबीच विवाद , खनिज सम्झौता असफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा विवाद भएको छ । अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौताका लागी ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा ट्रम्प र जेलेन्स्कीबीच भनाभन हुँदा खजिन सम्झौता असफल भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भेटवार्तामा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिकालाई अपमान गरेको आरोप लगाएपछि वातावरण अप्रिय बन्दै गएको हो । जेलेन्स्कीलाई बैठकबाट बाहिर जान भनिएको र उनी बैठक नसकी हिंडेपछि सम्झौता अघि बढ्न नसकेको बताइएको छ ।
यसैबीच, ट्रम्पले जेलेन्स्कीको राम्रो स्थिति नभएको र युक्रेनसँग कुनै उपाय नभएको टिप्पणी गरेका छन् । ट्रम्पले जेलेन्सकीलाई लाखौं मानिसहरूको जीवनसँग जुवा खेल्दै तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप समेत लगाएका छन् ।
जेलेन्स्कीले ट्रम्प रुसले सिर्जना गरेको भ्रामक सूचनाको क्षेत्रमा बाँचिरहेको बताएका छन् । -एजेन्सी