ट्रम्पद्वारा हमासलाई अन्तिम चेतावनी !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धकहरूलाई रिहा गर्न हमासलाई अन्तिम चेतावनी दिएका छन् । उनले आफुले इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउने यदि आफुले भने जस्तो नगरेमा हमासको एक सदस्य पनि सुरक्षित नहुने चेतावनी समेत दिएका छन् ।
व्हाइट हाउसले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै सो कुरा बताएका हुन् ।
ट्रम्पले हमासलाई सबै बन्धकहरूलाई रिहा गर्न र मारिएका मानिसहरूका सबै शवहरू तुरुन्तै फिर्ता गर्न आग्रह गरेका छन । उनले हमासलाई धम्की दिएको यो पहिलो पटक भने होइन । डिसेम्बरमा ट्रम्पले पदभार सम्हाल्दासम्म बन्धकहरूलाई रिहा नगरिए सबै नर्क हुने बताएका थिए ।
ट्रम्पले युद्धविराम अन्तर्गत हालै रिहा भएका ह्वाइट हाउसमा बन्धकहरूको समूहसँग भेट गरेपछि यो पोस्ट आएको हो ।
यसैबीच, ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकाले बन्धकहरूलाई रिहाइको लागि परामर्श गर्न हमाससँग सीधा वार्ता गरिरहेको पुष्टि गरेका छन् ।