इजरायली आक्रमणमा २०० भन्दा बढी संचारकर्मी मारिए !

काठमाडौँ । दक्षिणी गाजाको खान युनिसमा इजरायली हवाई आक्रमणमा एकजना प्यालेस्टिनी पत्रकार अहमद मन्सुरको जलेर मृत्यु भएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा प्यालेस्टाइन टुडेका रिपोर्टर मन्सुर आगोको लप्कामा चिच्याउँदै छटपटाइरहेको देखिन्छ। त्यहाँ रहेका मानिसहरूले पानी हालेर आगो निभाउन प्रयास गर्दै उनलाई बचाउन खोजे पनि सफल हुन सकेनन्। उक्त आक्रमणमा २ जना पत्रकार मारिएका र ८ जना घाइते भएको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
इजरायली सेनाले उक्त आक्रमणको पुष्टि गर्दै पत्रकार हसन एल्स्लेयेहलाई निशाना बनाइएको दावी गरेको छ। हसनमाथि सन् २०२३ अक्टुबर ७ मा इजरायलमा भएको आक्रमणमा संलग्न भएको आरोप छ, उनी पनि सोमवारको हवाई आक्रमणमा घाइते भएका समाचारमा जनाइएको छ।
सन् २०२३ देखि इजरायली सेनाले गरेको आक्रमणमा २०० भन्दा बढी पत्रकार र मिडियाकर्मी मारिइसकेका अन्तरराष्ट्रिय संचामाध्यमहरूले उल्लेख गरेका छन्। यसलाई पत्रकारहरूका लागि अहिलेसम्मकै सबैभन्दा घातक द्वन्द्व मानिएको छ। ह्यूमन राइट्स ग्रुपले आक्रमणको निन्दा गरेको छ भने मिडिल इस्ट र उत्तरी अफ्रिकामा पत्रकारहरूको सुरक्षा समिति (सिपिजे) ले पटकपटक मिडियाकर्मीलाई निशाना बनाएको र अन्तरराष्ट्रिय कानूनलाई बेवास्ता गरेको आरोप इजरायलमाथि लगाएको छ।
अघिल्लो महिना (मार्च २५) को आँकडाअनुसार २०२३ अक्टुबर ७ देखिको इजरायल–हमास युद्धमा अहिलेसम्म ५० हजार प्यालेष्टिनी नागरिकको ज्यान गइसकेको छ। अन्य १ लाख १३ हजारभन्दा बढी घाइते भएका बताइएको छ। इजरायल–हमासबीच जनवरी १९ मा युद्धविराम शुरु भएको थियो। इजरायली सेनाले मार्च १८ मा गाजामा फेरि आक्रमण शुरु गर्यो, जसमा ७०० भन्दा बढी मानिस मारिए भने ३ हजार ४ सयभन्दा बढी घाइते भए। यससँगै अस्थायी युद्धविराम र कैदीहरूको आदानप्रदानको सम्झौता भंग भएको छ। -एजेन्सी