ट्रम्प ‘जी–२० शिखर सम्मेलन’मा सहभागी नहुने संकेत !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने संकेत देखाएका छन् । दक्षिण अफ्रिकाले त्यहाँका गोरा (श्वेत) नागरिकको जमिन जफत गर्ने र उनीहरूको जनसंहार गरेको आरोप लगाएका ट्रम्पले जी–२० शिखर सम्मेलनमा नजाने आशय व्यक्त गरेका छन् ।
“जमिन जफत र जनसंहार नै प्रमुख कुरा भएको अवस्थामा दक्षिण अफ्रिकामा जी–२० जस्तो महत्त्वपूर्ण बैठकमा हामी कसरी जाने ?,” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् । “उनीहरूले गोरा किसानहरूको जमिन खोस्ने, उनीहरू र परिवारका सदस्यलाई मार्ने काम गरिरहेका छन् । मिडिया यसबारे लेख्न मान्दैन । अमेरिकाले दक्षिण अफ्रिकालाई दिने सबै सहयोग रोकेको छ । जी–२० का लागि के म यस्तो ठाउँमा जान चाहन्छु ? मलाई त्यस्तो लाग्दैन,” ट्रम्पले भनेका छन् ।
ट्रम्पको पोस्टमा दक्षिण अफ्रिका एक नेताले जमिन कब्जा र हत्यालाई ‘क्रान्तिकारी कार्य’ भनेको भिडियो पनि राखेका छन् ।
गोराहरूको एकल जातीय शासनपछि हालको दक्षिण अफ्रिकामा भूमि सुधार एक संवेदनशील मुद्दा बनेको छ । एएफपी समाचार एजेन्सीका अनुसार, ७० प्रतिशतभन्दा बढी व्यापारिक कृषियोग्य जमिन अझै पनि अल्पसंख्यक श्वेतको कब्जामा छ ।
ट्रम्पले जी–२० शिखर सम्मेलनमा नजाने टिप्पणी गरेपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाका प्रवक्ताले आफूहरूले ट्रम्पको अपेक्षा पनि नगरेको प्रतिक्रिया दिएका छन् । “हामीले उनको उपस्थितिको आशा पनि गरिरहेका छैनौँ,” उनले एएफपीलाई भनेका छन् ।
ट्रम्पको राष्ट्रपतिकालमा दक्षिण अफ्रिका र संयुक्त राज्य अमेरिकाबीच सम्बन्ध बिग्रिएको छ । वासिङ्टनले बारम्बार दक्षिण अफ्रिकालाई श्वेत–विरोधी नीति अवलम्बन गरेको आरोप लगाउँदै आएको छ । ट्रम्पले हालै दक्षिण अफ्रिकालाई अमेरिकी आर्थिक सहयोग रोक्न र दक्षिण अफ्रिकी श्वेतलाई अमेरिकामा शरणार्थीको दर्जा दिने कार्यकारी आदेश जारी गरेका थिए ।
दक्षिण अफ्रिकामा जन्मिएका करोडपति एलन मस्कले पनि दक्षिण अफ्रिकाका नेताहरू गोरा जातिको जनसंहारलाई प्रवर्धन गरिरहेको आरोप लगाएका थिए ।
एउटा र्यालीमा दक्षिण अफ्रिकाको अतिवामपन्थी पार्टी इकोनोमिक फ्रिडम फाइटर्सका केही नेताले ‘किल द बोयर’ भन्ने विवादास्पद गीत गाएपछि मस्कको अभिव्यक्ति आएको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि गत फेब्रुअरीमा दक्षिण अफ्रिकामा भएको जी–२० विदेश मन्त्रीहरूको बैठकमा सहभागिता जनाउन अस्वीकार गरेका थिए । उनले यसको एजेन्डा अमेरिका विरोधी भएको बताएका थिए । दक्षिण अफ्रिकाले सन् २०२५ का लागि जी–२० को अध्यक्षता गर्दै छ । उसले आगामी नोभेम्बरमा यसका नेताहरूको शिखर वार्षिक सम्मेलन आयोजना गर्न लागेको छ । -टाइम्स अफ इन्डियाबाट ।