भारतद्वारा पाकिस्तानमा मिसाइल हमला : कम्तिमा ३० जनाको मृत्यु

काठमाडौँ । भारतले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।
भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो ।’
भारतीय अनलाइन द भाष्करका अनुसार भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ ।
रोयटर्स समाचार एजेन्सीका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रहरुमा गोलाबारी र विष्फोटका रिपोर्टहरु आएका छन् ।
भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको छ । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । सो आतंकवादी आक्रमणमा पाकिस्तानले सघाएको र युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप भारतले लगाएको छ ।
भारतीय सेनाले एक्स अकाउन्टमा लेखेको छ– पाकिस्तानले फेरि एकपटक युद्धविराम सम्झौताको उल्लङ्घन गरेको छ । भारतीय सेनाले यसको उचित तरिकाले जवाफ दिइरहेको छ ।’
भारतले नौ स्थानमा आक्रमण गरेको भनिए पनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाँच स्थानमा आक्रमण भएको एक्स अकाउन्टमा लेखेका छन् ।
यसैबीच, पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिंदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् । त्यस्तै, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताएका छन्। चौधरीका अनुसार आक्रमणमा एक मस्जिदसहित कैयौं स्थानहरूलाई निशाना बनाइएको थियो।
यस घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्ने बताएका छन् ।