इजरायलद्वारा गाजापट्टीमा आक्रमण : ६० जनाको मृत्यु

२०८२ जेष्ठ ७ गते, मंगलवार


काठमाडौँ । इजरायली सेनाले गाजापट्टीमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ६० जनाको ज्यान गएको छ । प्यालेस्टिनी अधिकारीहरूका अनुसार इजरायली सेनाले सोमबार रातिदेखि मंगलबार बिहानसम्म गरेको क्रममा उनीहरूको ज्यान गएको हो । केही दिन यता इजरायली रक्षा बल (आईडीएफ)ले गाजापट्टीमा भीषण आक्रमण सुरू गरेको छ । आईडीएफले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका बन्धक रिहा नभएसम्म तथा उग्रवादी समूहलाई नष्ट नगरेसम्म आक्रमण नरोकिने बताएको छ ।
उत्तरी गाजामा एक घर र विस्थापितहरूले आश्रय लिइरहेको एक विद्यालयमा भएका दुई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको हो । तीमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मध्य सहर देर अल–बालाहमा गरिएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने नजिकैको नुसिरात शरणार्थी शिविरमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको अल–अक्सा शहीद अस्पतालले जनाएको छ । दक्षिणी सहर खान युनिसमा गरिकएको आक्रमणमा १० जनाले ज्यान गुमाएका नासेर अस्पतालले जनाएको छ । पछिल्लो आक्रमणबारे इजरायलले भने कुनै प्रतिक्रया जनाइसकेको छैन । इजरायली सेनाले हमास समूहका आतंकवादी केन्द्रलाई लक्षित गरि आक्रमण गरेको बताउँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]