विश्वको औसत तापक्रम १.९ डिग्री सेल्सियसम्म बढ्ने

काठमाडौं । विश्व मौसम संगठन (डब्ल्यूएमओ)ले आगामी पाँच वर्षमा विश्वको औसत तापक्रम १.९ डिग्री सेल्सियसम्म बढ्ने अनुमान गरेको छ । यो अनुमान ५० वर्षको औसत (सन् १८५० देखि १९०० को अवधिको औसत) तापक्रमको तुलनामा गरिएको हो । बुधबार सार्वजनिक विश्व मौसम संगठनको रिपोर्टमा सन् २०२५ देखि सन् २०२९ सम्मको अवधिमा हालसम्मको सबैभन्दा तातो वर्ष २०२४ लाई पनि पार गर्ने सम्भावना ८० प्रतिशत रहेको सम्भावना औंल्याइएको छ ।
यसैगरी कम्तीमा एक वर्षमा औसत तापमान पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ८६ प्रतिशत छ । पाँच वर्षको औसत तापमान १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७० प्रतिशत छ । यो गत वर्षको रिपोर्ट (२०२४–२०२८) को तुलनामा २६ प्रतिशतले बढी हो । सन् २०२४–२०२८ मा यस्तो सम्भावना ४७ प्रतिशत मात्र थियो । यसैगरी सन् २०२३ को रिपोर्ट ( सन् २०२३–२०२७)मा ३२ प्रतिशत मात्र थियो । यसबाट हरेक वर्ष विश्वको औसत तापक्रम बढ्दै गएको देखिन्छ । तापमानमा प्रत्येक वर्ष थोरै–थोरै वृद्धि हुनु पनि हानिकारक हुने वैज्ञानिकहरु बताउँछन् । यसले तातो लहर, अत्यधिक वर्षा, गम्भीर खडेरी, हिमगलन, समुद्री सतह वृद्धि जस्ता घटनाहरुलाई अझै बढाउँछ ।
आर्कटिक क्षेत्रको तापमान वृद्धि विश्वको औसतभन्दा ३.५ गुणा बढी हुने अनुमान छ, जसले समुद्र्री बरफ पग्लन र समुद्री सतह बढाउन भूमिका खेल्ने छ । डब्ल्यूएमओले भनेको छ- ‘आर्कटिकमा आगामी पाँच वर्षको अवधिमा गर्मीका कयौं रेकर्ड तोडिन सक्छन् । आगामी पाँच वर्षमा आर्कटिक क्षेत्रको तापमान विश्वको औसत तापक्रमभन्दा ३.५ गुणा अधिक हुने सम्भावना छ । यो सन् १९९१–२०२०को औसतभन्दा २.४ डिग्री सेल्सियसले बढी हो ।
यसका साथै समुद्री बरफको स्तर मार्च २०२५ देखि २०२९ सम्म अझै घट्ने सम्भावना पनि छ । यस्तो खासगरी बारेन्ट्स सागर, बेरिङ सागर र ओखोत्स्क सागरमा हुने सम्भावना छ । यस्ता मौसमी घटनाले अमेजन क्षेत्रमा थप खडेरी हुने र दक्षिण एशिया तथा उत्तरी युरोपमा वर्षा वृद्धि हुन सक्ने सम्भावना रहेको डब्ल्यूएमओले जनाएको छ ।
रिपोर्टका अनुसार २०२५–२०२९ को अवधिमा मेदेखि सेप्टेम्बर महिनामा औसतभन्दा बढी वर्षा हुनो सम्भावना छ । साहेल, उत्तरी युरोप, अलास्का र उत्तर साइबेरियामा औसतभन्दा बढी वर्षाको सम्भावना औंल्याइएको हो । तर अमेजन क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ । -एजेन्सी